images
images

बिहिवार , २०७६ मंसिर  २६ ( Thursday , 2019 Dec 12 )

images
images

जेट एयरवेजको बचाउमा सरकार : सबैभन्दा ठूलो विमान कम्पनी कसरी टाट पल्टियो ?

अर्थ डेली

प्रकाशित: २०७५-१२-२९ गते

केहि समय अगाडी जेट एयरवेजमा कार्यरत  २६० जना भन्दा बढी कर्मचारी नयाँ कामको खोजीमा स्पाइसजेटमा गएका थिए । अंग्रेजी वेबसाइट मनीकन्ट्रोलको अनुसार २० मार्चमा आयोजित स्पाइसजेटको वाक(इन)इन्टरभ्यूमा जेट एयरवेजका २६० पाइलट पुगेका थिए, जसमा १५० जना क्याप्टेन रहेका थिए । जेट एयरवेज भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी सन् २०१२ मा बनेको थियो ।

अहिले यो एयरवेजको आर्थिक स्थिति निकै खराब अवस्थामा रहेको र यसबाट बच्न जेट एयरवेजलाई ठूलो लगानी आबस्यक रहेको देखाउछ । १४ फेब्रुअरीमा जेट एयरवेजले आफ्नो कम्पनीलाई ऋण दिने एसबीआई बैंकले नै एयरलाइन्स सञ्चालन गरोस् भन्ने आशय सार्वजनिक गरेको थियो ।

तर,यो मामलामा सरकार अगाडी बढ्यो । आर्थिक संकटबाट गुज्रिरहेको एयरलाइन्सलाई बचाउन स्टेट बैंक अफ इण्डियालाई केही योजना ल्याउन भन्यो । बीबीसीका अनुसार भारतमा सरकारले सरकारी बैंकलाई कुनै निजी कम्पनीलाई बचाउन यसरी पहिले कहिल्यै भनेको थिएन । यो पटक अनौठो परिस्थिति देखियो ।

भारत सरकार किन यसो गर्दैछ ?

बीबीसीका संवाददाता समीर हाशमी भन्छन् - यो भारतको सबैभन्दा पुरानो निजी एयरलाइन्स हो । जेट एयरवेज बन्द भयो भने २३ हजारको जागिर संकटमा समेत पर्छ भने अहिले भारतमा चुनाव हुँदैछ र बेरोजगारीलाई लिएर मोदी सरकारमाथि व्यापक दबाव बढ्दो छ ।

सरकारलाई विपक्षीले बेरोजगारीको मुद्दालाई लिएर घेरा हालेको अवस्था अहिले छ भने चुनाव अगाडि नै जेट एयरवेज बन्द भयो भने आगोमा घ्यू थप्न विपक्षीलाई अझ सजिलो हुन्छ तर सरकार यो हुन दिन चाहँदैन । डुब्दै गरेको कम्पनीमा जनताको पैसा हाल्नु कत्तिको सही हो वा होइन ? अहिले सरकारको यो निर्णयलाई लिएर प्रश्न उठ्छ । महाराजा भनिने एयर इण्डियाको ५० हजार करोड ऋण डुबेको तथा किंगफिशर एयरलाइन्स पनि डुबेको भारतसंग विगतको तितो अनुभव समेत छ ।

१९९३ मा चार बोइङ ७३७ विमानको साथमा पहिलो पटक उडान सेवा सुरु गरेको यो कम्पनी १ अप्रिल १९९२ मा खुलेको थियो भने २०१२ मा आइपुग्दा भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी बन्न सफल भएको थियो । भारतमा यात्रीको शेयर हिस्सा २६.३ प्रतिशत जेट एयरवेजको रहेको थियो भने एयर इण्डियासँग १८.८ र इण्डिगोसँग १८.७ प्रतिशत मार्केट शेयर थियो । सरकारी विमान कम्पनी एयर इण्डियाका पूर्व कार्यकारी निर्देशक जीतेन्द्र भार्गव भन्छन्, सरकारको लागि यो कदम अत्यन्त गलत हुनेछ ।

भार्गवका अनुसार अहिले स्टेट बैंक अफ इण्डियाले केही लगानी गरेपछि एयरलाइन्समा केही सुधार त हुन्छ होला, तर ६ महिनापछि फेरि लगानी चाहियो भने त्यो बेला के गर्ने ? के भारतीय बैंक निरन्तर करदाताको पैसा लगाउन सक्छ ? हाशमी भन्छन्- यो एक गम्भीर प्रश्न समेत हो र त्यसैले त लगानी गर्ने पक्षमा बैंक खुलेर आएको अवस्था छैन ।

तर अहिले योजनाको नेतृत्व गरिरहेको एसबीआई बैंक तथा यसका प्रमुख रजनीश कुमारले यो एयरलाइन्समा बैंकले लगानी गर्छ भनेर कहीँ भनेका छैनन् । उनी चाहन्छन् कि बैंकको पैसा बचोस् र अरु कोही लगानीकर्ता आओस् । तर त्यो त्यति सजिलो देखिएको छैन । एसबीआईले इत्तेहाद एयरलाइन्ससँग पनि कुरा गरेको छ, जसको जेट एयरवेजमा २४ प्रतिशत शेयर समेत रहेको छ । बैंक अबुधाबीको यो कम्पनीले जेट एयरवेजमा थप पैसा लगाओस् भन्ने चाहन्छ । तर इत्तेहादले पनि थप लगानी गर्ने होइन बरु आफ्नो भएको शेयर पनि बेचेर बाहिरिने बतायो ।

महाराजा हुँदा जेट एयरवेजको शान

सन् १९९० को दशकमा भारत उदारीकरणको बाटोमा रहेको थियो र त्यहि दशकको अन्त्यतिर घरेलु उडानमा थुप्रै नयाँ कम्पनी समेत आए जसमा जेट एयरवेज पनि थियो । तर, २०१८ को अन्त्यतिर आइपुग्दा ठुलो कम्पनी ठूलो आर्थिक संकटमा पर्यो  । अहिले यो कम्पनी ११० करोड डलर घाटामा छ । उससँग एयरक्राफ्ट लिजिङ कम्पनीलाई दिने पैसा समेत छैन । अहिले खर्च कम गर्न कम्पनीले इकोनोमी क्लासमा दिने खाना बन्द गरेको छ भने यात्रुहरुको सामानको सीमा पनि घटाएको छ । हालै मात्र कम्पनीले थुप्रै घरेलु र अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

जेट एयरवेजमा उदारीकरणको असर

उदारीकरणपछि बढेको प्रतिस्पर्धा र थुप्रै कम्पनीले सस्तो हवाई सेवा दिएपछि जेट एयरवेजको यो अवस्था आएको हो । जेट एयरवेजको प्रतिस्पर्धी इण्डिगो र स्पाइसजेट थिए भने उनीहरुले सस्तो मूल्यमा उडान सेवा दिएका थिए ।

जीतेन्द्र भागर्व भन्छन्- इण्डियन क्यारियर कम्पनीले थुप्रै विमान अर्डर गरेका छन् । अबको ५-६ वर्षमा आठ लाख जहाज बजारमा आउनेछ भने उनीहरुलाई भर्न क्यारियर चाहिन्छ । यसका लागि टिकटको मूल्य कम हुनुपर्छ । सस्तोमा उडान भर्ने कम्पनीले आफ्नो लागत उठाएका छन् तर, फूल सर्भिस क्यारियरका लागि आफ्नो लागत पनि बचाउन मुस्किल हुँदैछ । इन्धनको मूल्य महंगो हुनु र भारतीय मुद्रा कमजोर हुनुको कारण पनि जेट एयरवेजको यो अवस्था आएको हो ।

कच्चा तेलको कारण टाट: अध्यक्ष नरेश गोयल

सन् २०१६ मा विश्वमा कच्चा तेलको मूल्य घट्यो र एयरलाइन्सलाई फाइदा भयो । त्यही बेला विदेशी एउटा कम्पनीले समेत लगानी गर्यो । यही कारण आर्थिक वर्ष २०१५ मा २०९७.४१ करोड घाटामा रहेको कम्पनी सन् २०१६ मा १२११.६५ करोड नाफामा आयो । तर, यो नाफा अल्पकालीन थियो र कम्पनी फेरि घाटामा गयो ।

जीतेन्द्र भागर्व भन्छन्-अहिले सबैभन्दा संकट भनेको नरेश गोयल न त लगानी गर्न सक्छन् न त कम्पनीको बोर्डबाट हट्न चाहन्छन् । अब बैंकले नै तय गर्छ कि गोयललाई बोर्डबाट निकालेर नयाँ बोर्ड गठन गर्ने कि नगर्ने ?

जेट एयरवेजका तीन निर्देशकलाई बोर्डबाट राजीनामा दिन र अध्यक्ष नरेश गोयललाई कम्पनीमा आफ्नो हिस्सा १७ प्रतिशतबाट घटाएर १० मा झार्न एसबीआई बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855