×
अर्थ डेली प्रकाशित: २०७६-२-२३ गते

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

पशुपतिनाथ मन्दिरको ५६ वर्षयताको अचल सम्पत्ति र परापूर्वकालमा राखिएको गुठीको जग्गाको विवरण सार्वजनिक गरिएको छ । पशुपतिनाथको सम्पत्ति विवरण सार्वजनिक भएको यो पहिलो पटक हो । मूल ढुकुटीको विवरण भने बाहिर ल्याइएको छैन । 

पशुपति क्षेत्र विकास कोषबाट दुई वर्षअघि गठित गुठी जग्गा अध्ययन एवं छानबिन समितिले चलअचल सम्पत्ति अध्ययन गरेको थियो । अचल सम्पत्ति मूल ढुकुटी र बम्बे ढुकुटीमा छ । बम्बे ढुकुटीमा २०१९ देखि २०७५ सालसम्मको अभिलेख पाइएको समितिका संयोजक तथा कोषका कोषाध्यक्ष मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथको भण्डार तहबिलको तथ्यांकअनुसार बम्बे ढुकुटीमा ९ किलो सुन छ । चाँदी ३ सय १६ किलो २३२ ग्राम छ । त्यो मूल ढुकुटीमा दखिला गरिएको थापाले जानकारी दिए । २०१९ सालभन्दा अगाडिको मुचुल्का प्राप्त हुन सकेन, थापाले भने । बम्बे ढुकुटी पशुपतिको भान्सामा छ । मूल ढुकुटी मन्दिरको माथिल्लो तलामा छ । सुनचाँदी, हीरा, मोतीलगायत बहुमूल्य गहना मूल ढुकुटीमा दाखिला हुन्छ । बम्बे ढुकुटीमा भाँडावर्तन लगायत सम्पत्ति जम्मा हुन्छन् । यहाँको भाँडावर्तनको छुट्टै मुचुल्का तयार गरिने थापाले जानकारी दिए ।

किन खोलिएन मूल ढुकुटी ?
पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापन गर्न २०६८ सालमा पशुपतिनाथ मन्दिर तथा पूजा व्यवस्था नियमावली जारी भयो । त्यही बेला कोषले मूल ढुकुटी पनि खोल्ने निर्णय गरेको थियो । त्यो निर्णयविरुद्ध अधिवक्ता भरतमणि जंगम सर्वोच्च अदालत गए । तत्कालीन न्यायाधीश रामप्रसाद श्रेष्ठको इजलासले ढुकुटी नखोल्न आदेश दियो । अदालतको आदेशपछि म श्रेष्ठलाई भेट्न गएँ, नियमावली जारी गर्ने समयका कोषका सदस्य सचिव नरोत्तम वैद्य भन्छन्, मेरो व्यक्तिगत चिनजानसमेत भएकाले किन यस्तो फैसला गरेको भनेर जिज्ञासा राखेँ । उहाँले अहिले खोल्यो भने सबै मास्छन्, जुन बेला विधिको शासन हुन्छ, त्यही बेला खोल्नुपर्छ भन्नुभयो । म उहाँको तर्कमा सहमत भएँ ।

मूल ढुकुटीमा पशुपतिका पुजारी प्रवेश गर्न पाउँदैनन् । पशुपतिका भण्डारको जिम्मा लिएका भण्डारीसमेत छिर्न पाउँदैनन् । यहाँ छिर्ने अधिकार पशुपति भण्डार तहबिलका नाइके बिसेटलाई मात्र छ । बिसेट पनि धोती लगाएर मात्र छिर्न पाउँछन् ।

छानबिन समितिले २०१९ यताको मात्र अभिलेख भएको जनाए पनि कोषका पूर्वकोषाध्यक्ष वैद्य भने २००२ सालसम्मको सम्पत्तिको अभिलेख पत्ता लगाएको बताउँछन् । उनका अनुसार मूल ढुकुटीमा अथाह सम्पत्ति छ । संसारमै नपाइने दुर्लभ हीरासमेत छ यहाँ, उनले भने, हीराको अध्ययन गर्न बेलायतबाट विज्ञ टोलीसमेत आएको थियो । टोलीले संसारको तीन दुर्लभ हीरामध्ये एक यहाँ रहेको जनाएको थियो । वैद्यका अनुसार पशुपतिको मूल ढुकुटी चन्द्रशमशेर जबराले चलाएका थिए । दासदासी उन्मूलन गर्न यही ढुकुटीको गहना चलाइएको थियो । उनले यहींबाट ३ लाख ५० हजार रुपैयाँ लिएर मुक्त भएका दासहरूलाई अमलेखगन्जमा जग्गा किनिदिएका थिए, उनले भने ।

जयबागेश्वरी मन्दिरको सम्पत्ति पनि पशुपतिकै ढुकुटीमा राखिएको छ । मन्दिरमध्येमा जयबागेश्वरी धनी मानिन्थ्यो । सती प्रथा कायम रहेका बेला महिला यही मन्दिरमा कपडा र गहना फुकालेर सती जान्थे । मूल ढुकुटीमा जयबागेश्वरीका ट्याङका छन्, वैद्यले भने, त्यहाँ के-के  छ भनेर हेरेकै छैन ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

१ अर्ब २९ करोडको कोष
कोषले नगद मौज्दातबाट १ अर्ब २९ करोड रुपैयाँको अक्षय कोष खडा गरेको छ । अक्षय कोषको रकम विभिन्न बैंकमा राखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष थापाले बताए । समृद्ध संस्थाका रूपमा विकसित गराउन कोष स्थापना गरिएको सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । अक्षय कोषको रकमबाट प्राप्त हुने ब्याजको केही रकम सामाजिक काम र विपतका बेलासमेत प्रयोग गर्ने योजना कोषको छ । ढकालले यहाँका जात्रा पर्व सञ्चालन गर्न अर्को कोष पनि खडा गर्ने बताए । माधव सुमार्गी भवन, विद्युतीय शवदाहगृह, पार्किङ, क्याफे लगायतले कोषको आम्दानी बढेको छ ।

जग्गा १८ हजार रोपनी
पशुपतिनाथ मन्दिरका नाममा १८ हजार ३ सय ४२ रोपनी जग्गा पत्ता लागेको छ । पशुपति गुठीअन्तर्गतका तीन कार्यालय र गुठी संस्थानका नाममा समेत रहेको जग्गाको विवरण हो यो । पशुपति गुठीअन्तर्गत अमालकोट कचहरी, जयबागेश्वरी भण्डार तहबिल र पशुपति भण्डार तहबिल गरी तीनवटा कार्यालय छन् । यी तीन कार्यालयको व्यवस्थापन अमालकोट कचहरीले गर्दै आएको थियो । २०५६ सालमा अमालकोट कचहरी कोषअन्तर्गत आएको थियो । २०२१ सालमा भएको नापीअनुसार पशुपतिका तीनवटा गुठीअन्तर्गत ४ हजार ८ सय ५ रोपनी जग्गा थियो । अमालकोट कचहरीअन्तर्गत १ हजार ४ सय ९९ रोपनी, पशुपति भण्डार तहबिलअन्तर्गत २ हजार ७ सय ९५ रोपनी र जयबागेश्वरी भण्डार तहबिलअन्तर्गत ५ सय ११ रोपनी ८ आना जग्गा थियो ।

गुठी संस्थानअन्तर्गत १ सय ९५ गुठी छन् । ती गुठीका नाममा ११ हजार २ सय ६१ रोपनी जग्गा छ । गुठीको र पशुपति कोषअन्तर्गतको जग्गासमेत गरेर १८ हजार ३ सय ४२ रोपनी जग्गा पत्ता लागेको हो । गुठी संस्थानअन्तर्गत भएको जग्गाको कुत संस्थानले लिन्छ । अमलकोट कचहरीअन्तर्गत रहेका जग्गाको कुत भने कोषले पाउँछ । अमालकोट कचहरी कोष मातहत नआउन्जेल कोषका नाममा ५ सय ३४ रोपनी मात्र जग्गा थियो । २०४६ सालमा सरकारले अधिग्रहण गरेर कोषलाई उक्त जग्गा उपलब्ध गराएको थियो । त्यसपछि पटकपटक अधिग्रहण गरेर कोषका नाममा जग्गा थपिएको थियो । २०५९ सालमा पशुपतिको प्रमुख क्षेत्रको सय रोपनी जग्गा सरकारले कोषलाई हुने गरी अधिग्रहण गरेको थियो । २०६२ सालमा कोर क्षेत्रभन्दा बाहिरको १९ रोपनी अधिग्रहण गरेको थियो । २०६४ सालमा २९ रोपनी ७ आना २ पैसा १ दाम अधिग्रहण भएको थियो । २०७० मा गरेको अधिग्रहणसमेत गरी १ हजार ५ सय ५ रोपनी जग्गा कोषलाई थपिएको थियो ।

प्रतिवेदन अपूर्ण
कोषका पूर्वसदस्य सचिव वैद्य कोषले तयार पारेको प्रतिवेदन सतही भएको बताए । मेहनत गरेको देखिएन, उनले भने, जस्तो- वेद विद्याश्रमको जग्गा कोष हाम्रो हो भन्छ तर त्यसको लालपुर्जा गुठीका नाममा छ । आफ्नो हो भन्न त पुर्जा हातमा हुनुपर्‍यो नि । सम्पत्ति आफ्नो कसरी हुन्छ भनेर मेहनतै गरेको छैन ।

कोषले तयार गरेको प्रतिवेदन अपूर्ण रहेको समितिले स्वीकार गरेको छ । सम्पत्ति विवरण तयार गर्न गुठी संस्थानले सहयोग नगरेको थापाले बताए । कोषका प्रमुख कार्यकारी रमेश उप्रेतीले प्रतिवेदन पूर्ण नआउनुको कारणमा गुठी संस्थान दोषी भएको बताए । पशुपतिमा दुईवटा सरकारी निकाय छन्, उप्रेतीले भने, गुठीकै कारण पशुपतिको जग्गा छानबिन गर्न सक्ने अवस्था थिएन । गुठी संस्थान कार्यरत भएकैले सम्पत्ति के कति हो, पत्ता लगाउन सकिएको छैन । यो पहिलो प्रयास हो । त्रुटि होलान्, आउने दिनमा सच्याउँदै जानुपर्छ ।
 

सम्बन्धित विषय: पशुपती मन्दिर

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

बागेश्वरी मन्दिरको जग्गा हिनामिना : ८४ बिघा व्यक्तिका नाममा

बागेश्वरी मन्दिरको जग्गा हिनामिना : ८४ बिघा व्यक्तिका नाममा

नेपालगन्ज - पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बा..

४० मन्दिर गायब, भूमाफियाले जग्गासंगै मूर्तिसमेत छोडेनन्

४०  मन्दिर गायब, भूमाफियाले जग्गासंगै मूर्तिसमेत छोडेनन्

२५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए&n..

यो वर्षको रमजान सुरु

यो वर्षको रमजान सुरु

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व मंगलबारदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर..

युएईमा गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाईदै

युएईमा  गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाईदै

 नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका ११ ओटा जातिय संघ संस्थाहरुको संयुक्त आयोजनामा युएईमा मह..