images
images

आइतवार , २०७६ चैत्र  २३ ( Sunday , 2020 Apr 05 )

वर्तमान नेपालको परिदृश्य र आवस्यकता

लोचन भट्टराई

प्रकाशित: २०७६-१०-१० गते

नेपाली समाजको विकासक्रम संगै विभिन्न आरोह अवरोह पार गर्दै परिवर्तनको प्रक्रृया सञ्चालनमा आएको देखिन्छ । ईतिहासको आँखी–झ्यालबाट नियालेर हेर्ने हो भने हजारौं वीर सपूतहरुले रगतको मूल्य चुकाएर अनवरत संघर्ष गरेको प्रतिफलले गर्दा नै नेपालमा हाल संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको छ । परिवतनको लागि गरिएको संघर्षको क्रममा जनताले विभिन्न स्वरुपमा आफ्नो भूमिका र योगदान दिएका कारण नै यो सम्भव भएको स्विकार गर्न कुनै कन्जुस्याँई गर्न पनि पर्दैन । परिवर्तन प्रकृयामा आधार भूत रुपमा योगदान गरेका कारण नै परिवर्तनबाट प्राप्त प्रतिफल स्वरुप राज्य संयन्त्रमा विराजमान भएका पक्षहरुको तर्फबाट आफ्ना अभिलाषा पूरा भएको हेर्ने हुट्हुटी जनतामा हुनु, चाँडो मुलुक सम्बृद्धि तथा विकासको दिशामा लम्केको हेर्ने चहाना गर्नु र तिरेको करको उचित प्रयोग भएको हेर्ने चहाना हुनु कुनै नौलो होईन । असंख्य सपनाको मिलन विन्दुको रुपमा नै नेपालका एतिहासिक परिवर्तनहरु सम्भव भएका हुन् र हुनेछन् पनि ।

ती सपनाको कार्यान्वयनको चरणमा वर्तमान अवस्थाको विश्लेषण गर्दा विक्रम संवत् २०६२÷६३ सालको जनआन्दोलन पछिको २०७२ असोज ३ गते संविधान सभाबाट संधिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान जारी हुनुपूर्वको समयलाई संक्रमण काल मान्ने र छुट नै दिने हो भने पनि त्यसपछिका घटनाक्रमलाई नियाल्दा संतुष्ट हुने पर्याप्त आधार देखिदैंन । यदि यस्तै रहिरहने हो भने आगामी दिनको जनअभिमतको परिदृष्य फरक ढंगको नहोला भन्न सकिन्न । २०६२-६३ को जनआन्दोलन पश्चात देशमा ठूलो परिवर्तन भयो राजतन्त्रको समूल अवषेशहरुको अन्त्य भएर देशमा गणतन्त्रको स्थापना भयो तर हालका दिनमा देशमा विद्यमान रहेको काम र घटनाक्रमहरुको अध्ययनबाट मेरो मनको हुटहुटी झन बढेर गएको छ । राजतन्त्र त नेपालबाट अन्त्य भयो तर सो समयका भ्रष्टाचार, अनैतिकता, कानूनी जालसाजी, संस्थागत रुपका वेथितिहरु, कानूनको गलत नियतको प्रयोग लगायतका कामहरुको विरोध गर्ने र जनतामा आशाका किरणको रुपमा देखा परेकाहरु नै त्यस्तै काममा लिप्त भएका छन् । जो अगुवा उहि बाटो हगुवा भन्ने नेपाली उखान चरितार्थ हुँदै गएको छ ।

सामन्तवादको अन्त्य गर्ने र समाजवादको स्थापना गर्ने भन्ने सिद्धान्तको वकालत गरेर नथाक्नेहरु भोको पेटले आदर्शका कुरा हुदैँन भन्दै खानमा नै मस्त छन् । हालका गतिविद्यिहरुको मिहिन अध्ययन गर्दा हामीले सामन्तवादको अन्त्य गर्ने सफलता प्राप्त गर्दा पनि त्यसको भुतले गाँजेको र पुरै संयन्त्र सिकिस्त भएको भन्ने छुट्याउन कठिन छैन । नेपालको समग्र परिदृष्यका चालकको भूमिकालाई आधार मानेर चित्रण गर्ने हो भने वर्तमान अवस्था तीन वर्गमा विभाजन भएको देख्न सकिन्छ र तिनिहरुको भूमिकागत आधारमा सविस्तार प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

वर्ग एक -कर्मचारी वर्ग : सबैलाई दोश दिन खोजिएको होईन तर निजामती लगायतका सार्वजनीक सेवाका क्षेत्रमा काम गर्नेहरुको मनमा सेवा भावले काम गर्ने बानीको बिकास कसरी निर्माण हुन सक्छ भन्ने मुख्य चुनौतीको विषय रहेको देखिन्छ । हाजिर गरेपछि तलव पाउने र काम गरेपछि भत्ता पाउनु पर्छ भन्ने मानसिकता नेपालको कर्मचारी वर्गमा छ । उनिहरुको मानसपटलमा भएको यो सोचाईलाई नवदलुन्जेल जति वल गरेपनि परिवर्तनको महसुस हुँदैन । एउटा कर्मचारीले जिवन भरमा वर्तमान तलवमानको आधारमा नै हेर्दा पनि करिव तीस वर्षे सेवा अवधिमा करिव एक करोड वा त्यसको आसपास कमाउने देखिन्छ तर कसरी कुनै पदमा नियुक्त हुने बित्तिकै उसले विलासी पूर्ण ढंगले घर सञ्चालन गरेर, छोराछोरीलाई निजि विद्यालयमा पढाएर पनि शहरमा वा अन्य ठाँउमा जग्गा, घर तथा जग्गा जोड्न सक्छ त्यो पनि हालको वजार भाउमा रहेर जवकि उसको परिवारमा त्यसअघि दुईछाक खान र राम्रो लगाउन पनि सम्पत्ति हुँदैन । विभिन्न विकास आयोजनाहरुमा कमिसनको चक्करमा कामको गुणस्तरलाई तिलान्जली दिएर ठेकेदारले फ्याँकेको जुठो खाएर किन गल्ती छोप्न किन कर्मचारी लिप्त हुन्छन् ? के आम नागरीकको हैसियतमा पनि कर्मचारीले भूमिका निर्वाह गर्नु पर्दैन ? कुनै अमूक संगठन वा व्यक्तिको आशिर्वाद पाएपछि जति सुकै फटाहा र गैरजिम्मेवार कर्मचारी पनि सजायबाट उम्कने गरेका कयौं उदाहरण हरेक दिन देख्न पाउने गरिन्छ । यो कहिले सम्म रहने । यस प्रकारका प्रवृत्तिहरु उपर निर्मम ढंगले प्रहार गर्नु पर्ने देखिन्छ ।

वर्ग दुई- राजनीतिक नेतृत्व तल देखि माथिसम्म : नेपालमा प्रत्येक राजनीतिक भूमिकामा रहने व्यक्तिहरुलाई उहाँको पेशा के हो भनी सोधियो भने उहाँहरुले जवाफमा राजनीति सगर्व भन्ने गरेको सुनिन्छ जवकी विश्वमा मानिसहरुले राजनीतिलाई समाज सेवाको रुपमा परिभाषित गर्ने गरको पाईन्छ । नेपालका राजनीति गर्ने र समाज सेवाको दुहाई दिएर समाजलाई परिवर्तन गर्छु भन्नेहरुको पहिलेको र हालको जीवनस्तरको तुलना गर्नुहोस् । हिजो पनि राम्रै खालको जीवन शैली विताईरहेका धनी तथा आफैंले वैकल्पीक आम्दानीको श्रोतहरुको सञ्चालन गरी नियमित रुपमा विकास भएको जीवनस्तर जस्तो देखिने नेताहरुको यहाँ चर्चा गर्न खोजेको होईन तर कुनै श्रृजनात्मक काम पनि नगरेका तथा राजनीतिको लागि भन्दै चिया पसलहरुमा चियागफमा नै मस्त हुनेहरु कुनै लाभको पदमा पुग्न नपाँउदै कसरी धनी हुन्छन् ? जवकी सो पदमा रहेर काम गर्दा उसको जीवन मुस्कीलले धान्न पुग्ने पारिश्रमिक पनि हुदैन, त्यत्रो रातारात आम्दानी बढ्छ कसरी ? के सार्वजनिक पदमा पुग्ने वित्तिकै उसलाई जादुको छडी प्राप्त हुन्छ र उसले कमाउछ ?

अन्तराष्ट्रिय जगतमा स्वीकार गरिएको र अर्थशास्त्रको विभिन्न परिभाषाहरुमा पाईएको के हो भने “पेशा भनेको कुनै लाभको अपेक्षा राखेर गरिने कार्य” हो जसको मुख्य लक्ष भनेको आम्दानी गर्ने भन्ने बुझिन्छ भने सेवा निःस्वार्थ गरिन्छ । जसमा लाभ र हानी भन्दा पनि बहुजन हितायलाई केन्द्रमा राख्ने गरिन्छ । तर हाम्रो देशमा कतिपय मैले यति खर्च गरेर चुनाव जितेको यति आर्जन गरिसकें भन्ने जनप्रतिनिधि भेटिन्छन् । के सार्वजनिक पद भनेको पैसा खर्च गरेर पुग्ने र त्यहाँ गएर आर्जन गर्ने थलो हो ? यो तिनिहरुले कहिले बुझ्ने ? तिनिहरु नै कुनै अमूक नेताको संरक्षणमा उच्च आहोदामा पुग्ने गरेका छन् । राजनीतिक जलप लगाउने वित्तिकै चोर साधु हुने र साधु पनि चोरको रुपमा दर्ज हुने गरेको देखिन्छ । राजनीतिमा शुद्धिकरण शुरु भयो भनेर जनताले कहिले देख्न र महशुस गर्न पाउने ? केही नेताहरुलाई छोडेर धेरैको चुनावमा टिकट लिंदा देखि लड्दा सम्म धेरै खर्च भएको, पद नै किनवेच भएको जस्ता कुराहरु सुन्नु परिराखेको छ । पैसा खर्च नगरी ईमान्दारिताको भरमा पनि यिनिहरुले चुनाव जिते अव आस गर्न सकिन्छ भनेर जनताले कहिले हेर्न र विश्वास गर्न पाउने ? तसर्थ भनाईको तात्पर्य के हो भने नेपाली राजनीतिक पदमा जाने तथा विभिन्न रुपमा राजनीतिक भूमिका निर्वाह गर्ने व्यक्तिहरुको सोचाईमा रहेको राजनीतिलाई पेशा ठान्ने तथा सार्वजनिक पदको दुरुपयोग गर्ने सोचाई नै परिवर्तन हुनु पर्दछ र राजनीतिलाई सेवा हो भन्ने तथ्य बुझ्नु, बुझाईनुको साथै स्थापित गराईनु पर्दछ ।

वर्ग तीन -जनता (म पनि) : हामी आफैंमा पनि विविध समस्या रहेका देखिन्छन् । कुरा चर्का गर्ने तर एउटा सानो कामको लागि पनि राज्यको मुख ताक्ने नागरिकको सोचाई र सैली परिवर्तन हुनु पर्दछ । नेपाली जनतामा देखिने गरेका प्रवृत्तिहरु प्रतिकात्मक रुपमा बुँदागत रुपमा यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

प्रवृत्ति १ - सरकारले भूकम्पको समयमा अनुदान जनतालाई दियो तर तास, जुवा र मद्यपानमा त्यस्तो रकम मानिसहरुले खर्च गरेको देखियो । सरकारले दिएको राहतलाई पचाउने मनसायले मात्र जतनाले घर वनाए । यस्तै प्रवृत्ति सरकार तथा अन्य पक्षबाट विभिन्न समयमा नागरिकलाई अनुदान तथा सहयोग दिईदा सो को प्रयोगको क्रममा पनि देखिने गरेको छ । यस खाले जनताको आदतमा परिवर्तन हुनु पर्दछ ।

प्रवृत्ति २ - करोडौ रुपैंया खर्च गरेर कोही मानिस घर वनाँउछ तर ढल र घरअगाडीको बाटो सरकारले बनाएन भनी कुर्लन्छन् । करोड खर्च गर्र्न सक्नेले अरु एकलाख खर्च गरेमा घर अगाडी पक्की बाटो व्यवस्थित हुन्छ भने किन नवनाउने ? त्यसमा सरकारको मुख ताक्नु पर्छ र ? आम नागरिकमा सकरात्मक सोचको विकास हुनु पर्दछ ।

प्रवृत्ति ३ - काठमाण्डौ शहर लगायत देशै भर फोहोर व्यवस्थापन भएन र सरकारले केही गरेन भनी नागरीकहरुले चिया पसल, गफमा, चोकमा वसेर ठूलो स्वरमा भन्ने गरेको देखिन्छ तर आफ्नो घर अगाडी पनि कसैले सफा गरेको देखिदैंन । त्यती गफ गर्नुको साटो हरेक नागरीकले त्यो फजुल गफ दिन खर्च गरेको समय दिएर आफ्नो घर वरपर मात्र सफा गरे एकै दिनमा देश सफा हुन्छ त्यो किन नबुझिएको ? जिम्मेवारी र जवाफदेहिताको आचरण हामीमा विकास हुनु पर्दछ ।

प्रविृत्ति ४ - असारे विकास तथा गलत प्रविृत्ति र भ्रष्टाचारका वारेमा मानिसहरु धेरै चर्का कुरा गर्छन तर त्यस खाले काम भएको ठाँउमा नै किन भण्डाफोर गर्दैनन् ? गलत काम हुँदै गरेको पाईएमा जनस्तरबाट नै तत्काल त्यसका विरुद्ध प्रतिवाद गर्ने र त्यसलाई उचित सुधार नभईन्जेल रोक्ने चलनको शुरुवात हुनु पर्दछ ।

प्रवृत्ति ५ - राजनीतिलाई फोहोरी खेल र नकरात्मक भनी चर्का गफ नागरीकहरु गर्ने गर्दछन् तर चुनावको समयमा किन एक गिलास रक्सी र एकप्लेट भुटनको भरमा मत दिएर तिनै फोहोरी भनिएकाहरुलाई जिताएर पठाउँछन् ? आवधिक निर्वाचन नै जनताले नेतालाई पुरस्कार र दण्ड गर्ने उचित विधिसम्मत लोकतान्त्रीक प्रकृया रहेको हुँदा त्यसको कुनैपनि प्रलोभन, वहकाउ वा छलछाममा नपरी उचित र यथार्थ प्रयोग गर्नु पर्दछ ।

प्रवृत्ति ६ - आम मानिसहरुमा कुनै पनि काम र गतिविधिको सतही विश्लेषणका आधारमा त्यो सही होस् वा गलत नबुझेरै पनि विरोधको लागि विरोध गर्ने परम्परा रहेको देखिन्छ । लाग्छ कि ती मानिसहरुको धर्म नै विरोध गर्नु हो । वास्तविकताको धरातलमा नपुगेरै यो यस्तो, त्यो उस्तो भनेर सामाजीक सञ्जाल तथा विविध छलफलहरुमा वकालत गर्ने र उस्तै परे भिडन्तमा नै उत्रने गरेको पाईन्छ । वास्तविक धरातलमा आधारित वहस, विश्लेषण र छलफल गर्ने नेपालीको संस्कार कहिले विकास हुने हो ? आम जनमानसले यो प्रश्नको गंभिर आत्मसमिक्षा गर्नुपर्ने अपरिहार्यता देखिन्छ ।

परिवर्तनको परिभाषा दिने क्रममा कुनै एक विद्धानले भनेका छन् “संसारमा परिवर्तन भन्ने शव्द बाहेक सबै कुराहरु परिवर्तनशील छन्” । यहि भनाईलाई आधार मान्ने हो भने माथि उल्लेख गरेका पक्षहरु परिवर्तन हुनुपर्छ कि पर्दैन ? यस प्रकारका विकृतिहरुको अन्त्य भई बदलाव आउनु पर्छ कि पर्दैन ? यस्ता प्रवृत्तिको सिकार नेपाल र नेपाली कहिले सम्म भईरहने ? सबै नेपाली नागरिकहरुले सोच्ने बेला आएको छ । ऋषिमनको कुरा गर्नेहरुको ऋषिमन विकास र सम्वृद्धि तर्फ कहाँनिर कुन अवस्थामा छ ? संविधानको प्रस्तावनामा “नेपाल समाजवाद उन्मुख राज्य हुनेछ” भनेर उल्लेख गर्दैमा समाजवाद तर्फ प्रवेश गर्ने हो र ? त्यस प्रकारको राज्य संयन्त्र परिचालन गरिनु पर्छ कि पर्दैन ? आम नागरिकले राज्य निर्माणमा योगदान नगरेर भएको विकासमा आम नागरिकको अपनत्व रहन्छ र ?

समाजको भूमिका मुद्रामुखी मात्र भएर समाजवादी विकास सम्भव हुन्छ ? समाजवादलाई “खोपिको देउता” वनाउँदैमा त्यसको संविधानमा उल्लेख हुनुको सार्थकता झल्कन्छ ? नागरिककोे निम्न कर्तव्य हुनेछ भनेर संविधानमा उल्लेख गर्दैमा त्यसको सार्थकता पूरा हुन्छ ? तसर्थ, यस्ता अनगिन्ती अनुत्तरीत प्रश्नहरुको उत्तर, कुनै काम कतिवेला गर्ने भन्ने सवालमा एउटा भनाई छ “भोली भनेको काम आजै गरौं, आज भनेको काम अहिल्यै गरौं”, भने जस्तै ढंगमा जन जनले तन मन बचनले खोज्ने वेला आएको छ तव मात्र सच्चा परिवर्तनको अनुभुती हुन सक्छ ।

 

( लोचन भट्टराई, हाल महालक्ष्मी ५ललितपूर,फेदाप  ३जलजलेतेह्रथुमका भट्टराई अधिवक्ता हुन)

Email: [email protected]

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855