मंगलबार, भाद्र २ गते २०८३
images

माक्र्सवादी बहस : राम्रो म कोदाली तँ !

  • 10.0K
    SHARES
  • बैशाख ८, २०७६ आइतबार

    नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यधिक प्रयोग हुने शब्द हुन् क्रान्तिकारी र संसोधनबादी । आफ्नो परिभाषा गर्न क्रान्तिकारी शब्दको प्रयोग गर्ने र अरुलाई गाली गर्न संसोधनबादी शब्दको प्रयोग गर्ने पुरानो बाम रोग हो । सर्वविदितै छ ,क्रान्तिकारी भन्नाले विद्यमान समाजको राजनीतिक,आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थितिमा आमूल परिवर्तन ल्याउन संगठित प्रयास गर्ने ब्यक्ति बुझिन्छ भने संशोधनबादी भन्नाले माक्र्सबादका आधारभूत मान्यताहरुमा फरक दृष्टिकोण राख्ने वा परिमार्जन गर्न चाहने ब्यक्तिलाई बुझाउछ ।

    माक्र्सको देहवसान भएलगत्तै लेनीनको उदय भएको थियो । युरोपका प्रायः सबै मुलुकमा एकै पटक समाजबाद आउने माक्र्सको विश्लेषणमा लेनीनले पहिलो संशोधन गर्दै समाजको परिस्थितिमा परिवर्तन आएकोले कुनै एउटा देशमा पनि समाजबाद लागू हुन सक्छ भन्ने निष्कर्ष मात्र निकालेनन् , लागू गरेर देखाइदिए । तर उनलाई संशोधनबादी भनिएन ,रुसका अरु नेताहरुले संशोधनबादीको विल्ला भिर्नु पर्यो । माक्र्सले पुजीबादका विकास भएपछि सर्बहारा बर्गको संगठित विद्रोहबाट समाजबादी सत्ता कायम हुन्छ भनेका थिए । त्यस्तो सामाजिक अबस्था नआउदै माओले चीनमा नौलो जनबादी शासन ब्यबस्था लागू गरे । माक्र्सको विश्लेषणभन्दा फरक भए पनि त्यसलाई संशोधनबाद भनिएन,क्रान्तिकारिता भनियो । यसलाई चिनिया परिस्थितिमा माक्र्सबादको सिर्जनात्मक प्रयोग भनियो ।

    नेपालमा कसले कतिबेला कसलाई संशोधनबादी भन्यो यकिन गर्न कठिन छ । नेपालमा एक बामपन्थी गूटले अर्को गूटलाई विल्ला भिराउने शब्दको रुपमा प्रख्यात छ संशोधनबाद । आफूलाई क्रान्तिकारी देखाउन अरुलाई संशोधनबादी भन्नै पर्ने । कुनै समय समय कमरेड किरणले कुनैवेला विप्लवलाई नवसंशोधनबादी भने । यसको कारण के हुन सक्छ भने उनले पहिले नै कमरेड प्रचण्ड र बाबुरामलाई संशोधनबादी भनिसकेका थिए । विगतमा वल्लो छेउ र पल्लो छेउमा बसेर एक अर्कोलाई शाब्दिक र भौतिक आक्रमणमा उत्रेका एमाले र माओवादी मिलेर सिंगो कम्युनिष्ट आन्दोलनलाई एक मात्र बनाएनन्, नेपाललाई समाजवादी राष्ट बनाउने समृद्धिको नेतृत्व गर्न शुरु गरिसकेका छन् । हिजो एक अर्कालाई गाली प्रयोजनका लागि प्रयोग गरिएका शब्दहरु सम्झेर हाँस्नेबाहेक तिनीहरुको कुनै अर्थ छैन ।

    निःसदेह, माक्र्सबाद विज्ञान हो र वितेका दुई शताब्दी यस विज्ञानले दर्शन र राजनीतिको क्षेत्रमा तुमुलकारी परिवर्तन ल्याइदियो । त्यसो भन्दैमा यसका बारेमा प्रश्न उठाउनै नपाउने भन्ने होइन । विश्व समाजमा आएको भिमकाय र बहुआयामिक परिवर्तनले यसलाई माक्र्स, लेनीन वा माओका उद्दरणले मात्र समेट्ने अवस्था अब रहेन । विडम्वना, नेपाली कम्युनिष्ट आन्दोलनका अघिल्लो पुस्ताका नेताहरुले माक्र्स, लेनीन र माओलाई सत प्रतिसत सत्यको रुपमा बुझे र आफ्नो बुझाइभन्दा अलि फरक ढंगले बुझ्ने र ब्याख्या गर्नेलाई संसोधनबादी, कठमुल्लाबादी, सारसंग्रहबादी, दक्षिणपन्थी जस्ता विल्ला भिराएर गाली गरिरहे । आएका नया विचारलाई बहस र ब्यवहारिकताको कसीमा घोट्नुको सट्टा त्यस्ता विचारलाई निःषेध गर्ने परिपाटीको विकास गरियो । त्यही कारण कम्युनिष्ट आन्दोलनमा निरन्तर फूट र विभाजन भइरह्यो ।

    तत्कालीन नेकपा(एमाले) र तत्कालीन माओवादी मिलेर नेकपा बनिसक्दा पनि नेपाली कम्युनिष्ट आन्दोलनको मुलधारमा आउन अझै हिच्किचाइरहेका साना समूह माओबादी नभई क्रान्तिकारी होइन्न भन्ने मान्यता राख्दछन् । त्यसो भए लेनीन र स्तालिनलाई क्रान्तिकारी भन्ने कि नभन्ने ? किनभने त्यतिबेला माओबादको शुरु नै भएको थिएन । पेरिस कम्युन क्रान्तिकारी कदम थियो कि थिएन ? किनभने त्यतिबेला लेनीन ,स्तालिन र माओ कोही पनि थिएनन् । त्यसकारण सही कुरा त के हो भने माक्र्सबादका सार्वभौमिक अवधारणालाई पक्रेर आफू वरिपरिको समाजको आमूल परिवर्तनको नेतृत्व गर्नु क्रान्तिकारिता हो । न कि यो बादी र उ बादी भनेर झगडा गर्नु ।

    भनिन्छ, कुनै समय वनारस विश्वविद्यालयबाट दुई विद्यार्थी पण्डितको अध्ययन सकेर धर फर्कदै थिए । बाटोमा कुनै खोला तर्दा साथीलाई खोलाले बगाएछ । अर्को साथीले किताबी ज्ञानको सहारा लिने नै भयो । उसको किताबमा भनिएको थियो पूरा जोगाउन नसके आधा जोगाउनू । के चाहियो ? साथीको आधा जोगाउन उसको टाउको काटियो ! माक्र्स, लेनीन वा माओका किताबमा के लेखिएको छ भन्ने कुरामा मात्र ध्यान दिने हो र धरातलीय यथार्थको कुनै ख्याल नगर्ने हो भने नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यस्तो स्थिति नआउला भन्न सकिन्न । माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न सफल भएरमात्र नेपालका कम्युनिष्टहरु शिखरमा पुगेका हुन् ।

    कोही त यस्तोसम्म तर्क गर्छन् शान्त हुनु, जनवादी(लोकतान्त्रिक) हुनु, अरुको अस्तित्व स्वीकार गर्नु, चुनाव लडेर जनमतमा श्रेष्ठ हुनु साम्यवादी शब्दकोशमा पर्दैनन् ! सच्चा क्रान्तिकारी हुनु भनेको त बम र गोला बारुद बोक्नु, जनतालाई त्रासमा राख्नु, जनताको करबाट बनेका भौतिक संरचना उडाउनु, चराको शिकार गरेजस्तो मान्छेको शिकार गर्नु पो हो ! माक्र्स जन्मेको दुई सय वर्ष भईसक्दा देखिएको यस्तो अद्भूत चेतनालाई के भन्ने ? हुन पनि आफूले बुझेजति माक्र्सवाद र अरुले बुझेको चाहि अर्कै भन्ने हो भने त द्वन्दवादको औचित्य के होला र ?

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार