तपाइलाई सुन्दा अचम्म लाग्यो होला राजाले कट्टु र चप्पल मात्र लगाउछन र आफै रेष्टुरेन्ट र डुङ्गा चलाउँछन् भनेर । तर यो सत्य हो,एउटा यस्तो देश छ जहाका राजा सामान्य जीवनयापन गर्दछन । ठूला-ठूला साम्राज्यका इतिहास तथा कहानीहरु त तपाइले पढ्नु र सुन्नुभएकै होला । इतिहासमा बेलायती साम्राज्य यति विशाल थियो कि त्यहाँ सूर्य कहिल्यै अस्ताउँदैनथ्यो । त्यसैले होला विश्वमा एकजना यस्ता बादशाह छन् जसको राज्यको जम्मा ११ जना मानिस बस्दछन् ।
नाम मात्रैका ती राजाले नोकर चाकर कजाउने होइन, आफैं डुङ्गा र होटेल चलाएर गुजारा गर्दछन् । अनि कट्टु र चप्पलमा जिन्दगी बिताउँछन् । ति राजाले शासन गर्ने राज्यको नाम हो किंगडम अफ टाभोलारा । यो राज्यको क्षेत्रफल पाँच वर्ग किलोमिटर छ भने ति टापुका राजा हुन् टोनियो बर्तलिओनी । रोचक त के छ भने, इटालीका संस्थापक मानिने गुसेप ग्यारीबाल्डीले टाभोलाराका राजासँग शान्ति सम्झौता गरेका थिए । १९ औं शताब्दीमा बेलायती महारानी भिक्टोरियाले विश्वभरका बादशाहहरुको नाम तथा तस्वीर संकलन गर्ने अभियान चलाउँदा टाभोलाराका राजाको तस्वीर खिचेर बकिंघम दरबारमा पनि राखिएको थियो ।
त्यो तस्वीर अहिले टोनियो बर्तलिओनीको रेष्टुरेन्टमा झुण्डिरहेको छ । इटालीको सार्डिनिया प्रान्त नजिक भूमध्य सागरमा यो सानो टापु छ र त्यहि टापुमा ती राजाको राजतन्त्र अहिले पनि कायम छ ।यो टापु राज्य इटाली भन्ने देश अस्तित्वमा आउनु अगाडिबाटै अस्तित्वमा छ । टाभोलारा टापुमा फैलिएको उक्त राज्यको उनी राजा हुन्, तर उनको हुलिया तथा रहनसहन पटक्कै राजर्षी छैन । एक राजाको रुपमा उनले पाउने सुविधा भनेको मात्र निःशुल्क भोजन हो त्यो पनि उनको आफ्नै रेष्टुरेन्टमा ।
इतिहासका विशाल साम्राज्यहरु आज अस्तित्वमा समेत छैनन् । दुनियामा आफ्नो साम्राज्य फैलाउने तागत अब सायदै कुनै मुलुक तथा शासकको मात्र होला । चंगज खाँको साम्राज्यले पनि विश्व भूगोलको ठूलो हिस्सामा आधिपत्य कायम गर्न सफल भएको थियो । सन् १८०७ मा एकै घरका दुई दिदी बहिनीसँग भागी बिहे गरेर इटालीबाट भागेर यो टापुमा आएका थिए राजा बर्तलिओनीका जिजुबाजेका बुवा गुसेप बर्तलिओनी । त्यस समयमा इटाली छुट्टै देशको रुपमा थिएन, तर सार्डिनिया सुबा एउटा अलग्गै साम्राज्यको रुपमा थियो ।
जहाँ दुई महिलासँग बिहे गर्नु कानून विपरीत थियो । त्यसैले उनी सजायबाट बच्नको लागि उक्त टापुमा गएका थिए । विडम्बना, सन् १९६२ मा उक्त टापुमा नेटोको सैनिक अड्डा स्थापना भयो र त्यो सानो साम्राज्यको सम्प्रभुता पनि नेटोले नामेट बनाइदियो । उत्त टापुको अधिकांस क्षेत्रमा मानिसहरु प्रवेशमा रोक लगाइयो । तर इटालीले कहिल्यै पनि टाभोलारालाई आफ्नो हिस्सा बनाएको छैन । तथापि टाभोलाराले अहिलेसम्म पनि दुनियाको स्वतन्त्र देशको मान्यता पाएको छैन । टाभोलाराका राजा टोनियो र उनका परिवारले इटालीबाट उक्त टापुसम्म चल्ने डुंगा र रेस्टुरेन्ट फेरि चलाउँछन् । यहाँ घुम्नका लागि ठूलो संख्यामा पर्यटक समेत आउँने गरेका छन् । यो टापुमा लोपोन्मुख बाख्रा र बाज चरा समेत पाइन्छ ।