वीरगञ्ज । वीरगञ्जमा एक घण्टामै कोरोना परीक्षण रिपोर्ट दिन सकिने प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ । एक्सपर्ट एक्सप्रेस सार्स कोभिड–२ परीक्षण वीरगञ्जमै सुरु गरिएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार जीन एक्सपर्ट प्रविधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भए नभएको जानकारी एक घण्टामा दिन सकिन्छ । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त यस प्रविधि पनि राम्रो छ । जीन एक्सपर्ट प्रविधिबाट एक साता अघिदेखि नै कोरोना परीक्षण भइरहेको उनले बताएका छन ।
तर यो विधिबाट सबैका लागि परीक्षण भने सम्भव छैन । सामान्य अवस्थामा नर्मल आरटी पीसीआर नै गरिन्छ ।
‘रिएजेन्ट महंगो छ, वीरगञ्जमा तीन सय किट मात्रै आएको छ । सबैका लागि यो गर्न सकिन्न । आकस्मिक अवस्थाका लागि यसको प्रयोग गरिरहेका छौं,’ डा. उपाध्यायले भने, ‘सघन उपचार कक्षमा उपचाररत, गम्भीर अवस्थाका बिरामी तथा मृत्यु भइसकेको डेडबडी व्यवस्थापनका लागि यसको प्रयोग भइरहेको छ ।’
वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएका रौतहटका युवकको पनि सोही प्रविधिबाट कोरोना परीक्षण गरिएको उनले बताएका छन ।
संक्रमितको संख्या बढ्दै गएपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले रिपोर्टका बारेमा समयमै जानकारी दिन नसकेको गुनासो आइरहेको छ । पोजेटिभ रिपोर्टको जानकारी स्वास्थ्य कार्यायलय वा जिल्ला प्रहरी कार्यालयले गठन गरेको कोभिड टाक्स फोर्सले दिने गरेको छ ।
नेगेटिभ रिपोर्टको जानकारी पाउनका लागि सर्वसाधरणलाई सास्ती भइरेको छ । तर अब उनीहरुको कोरोना परीक्षण रिपोर्टबारे जानकारी मोबाइलमै एसएमएसमार्फत जाने अस्पतालले जनाएको छ ।
३१ गतेसम्मको रिपोर्ट सिस्टममा इन्ट्री गरिसकिएको छ । व्यक्तिले सही मोबाइल नम्बर दिएको छ भने नेगेटिभ रिपोर्टको जानकारी मोबाइलमा एसएमएस मार्फत जान्छ । पोजेटिभ रिपोर्ट आएका अर्थात कोरोना संक्रमण पुष्टि भएकालाई भने पुरानै प्रक्रियाबाट जानकारी गराइनेछ ।