राजनीतिक संकटबाट गुज्रिरहेको भेनेजुयलमा राष्ट्रपति मादुरो समर्थक सेनाले प्रदर्शनकारीमाथि गाडी कुदाएका छन्।
स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गोइदोको आह्वानमा त्यहाँ प्रदर्शन भएको थियो। प्रदर्शनले हिँस्रक रुप लिएपछि सेनाले प्रदर्शनकारीमाथि गाडी कुदाएका हुन्।
अमेरिका र युरोपेली संघको साथ पाएका गोइदोले मंगलबार राष्ट्रपति निकोलास मादुरोको शासन समाप्त हुने बताएका थिए।
उनले आफूलाई देशको सेनाको साथ भएको दाबी गर्दै जनतालाई मादुरोविरुद्ध प्रदर्शनमा उत्रन आह्वान गरेका थिए। उनले आफूले सेनासँग मादुरोलाई राष्ट्रपतिबाट हटाउन सहयोग मागेको बताएका थिए।
प्रदर्शनको घटनापछि राष्ट्रपति निकोलास मादुरोले गोइदोको नेतृत्वमा भएको कुको प्रयास असफल भएको बताएका छन्। राष्ट्रपति मादुरोले प्रदर्शनकारीले वैधानिक सरकारलाई असफल बनाउन खोजेको आरोप लगाएका छन्। उनले यो सब अमेरिकाको खेल भएको जनाएका छन्।
उता गोइदोले अझै पनि मादुरोलाई सेनाको साथ नभएको बताइरहेका छन्। मादुरोले भने आफूलाई पूर्ण रुपमा सेनाको साथ भएको दाबी गरेका छन्।
राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा गोइदोलाई अमेरिका र युरोपेली संघको साथ छ भने राष्ट्रपति निकोलास मादुरोलाई रुस, चीन, मेक्सिको लगायतका राष्ट्रको समर्थन छ।
यसअघि मादुरोले अमेरिकाले गोइदोलाई प्रयोग गरेर भेनेजुएलामा कुको प्रयास गरेको आरोप लगाएका थिए।
यतिबेला २५ जना भेनेजुयलाका सेना जसले अन्तरिम राष्ट्रपति गोइदोलाई समर्थन गरेका थिए उनीहरु राजधानी कराकसस्थित ब्राजिलको राजदूतावासमा शरण माग्न पुगेको सिएनएनले जनाएको छ।
गोइदोले आफ्ना समर्थकलाई मादुरोविरुद्धको प्रदर्शन नरोक्न अपिल गरेका छन्। अमेरिकाले मादुरोको क्रियाकलाप नजिकै बाट नियालीरहेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्।
उनले आफूहरु जहिल्यै भेनेजुयलाका नागरिकको अधिकार र स्वतन्त्रताको पक्षमा भएको बताएका छन ।
सरकार र विपक्षीले संयमता अपनाउन नसक्दा हिंसा चर्किरहेका बेलामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूहरु कुनै पनि पक्षमा नभएको बताउँदै हिंसा रोक्न अपिल गरेका छन्।
गतवर्षको राष्ट्रपतिय निर्वाचनमा निकोलास मादुरोले जित हात पारेका थिए। दोस्रोपटक कार्यकाल सम्हालेका मादुरो विरुद्ध यसै वर्षको पहिलो महिनादेखि भेनेजुएलामा प्रदर्शन जारी छ।
विपक्षी दलले मादुरोले चुनाव धाधली गरेर जितेको आरोप लगाएका छन्। प्रदर्शनकै क्रममा विपक्षी नेता हुँवा गोइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका छन।
अमेरिकाले मादुरोलाई राष्ट्रपति नमानेर गोइदोलाई अन्तरिम राष्ट्रपति स्वीकार गरेपछि त्यहाँ राजनीतिक तथा आर्थिक संकट चुलिएको हो।
गोइदोले मादुरोले धाधली गरेर चुनाव जितेकाले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गर्ने अधिकार भएको जनाएका छन्। उनले आफूलाई अर्को चुनावको बाटो खुलाउने अधिकार भएको बताएका छन्। एजेन्सी