मंगलबार, भाद्र २ गते २०८३
images

मानिसहरु किन गर्छन आत्महत्या ? यसरी गर्न सकिन्छ आत्महत्या रोकथाम!

  • 32.8K
    SHARES
  • जेठ १८, २०७६ शनिबार

    प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर  किन व्यक्तिले आत्महत्या गरेर आफ्नो ज्यान÷शरीर आफै समाप्त पार्छ ? यस्तो अवस्थामा पुग्दा पक्कै पनि उसले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको तथा अरु कुनै पनि विकल्पहरू नभेटिएर चरम निरासामा डुबेको हुन पर्दछ ।आत्महत्या व्यक्तिको कमजोरीका कारण हुने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

     आत्महत्या नेपालमा पनि जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै गएको छ । नेपालमा पनि आत्महत्या गर्नेको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ५,३४६ व्यक्तिले आत्महत्याबाट ज्यान गुमाएका थिए । जसमध्ये २,८५४ पुरूष, २,२०० महिला, १११ बालक र १३९ बालिका रहेका थिए । नेपालमा सबैभन्दा बढी ३,८८३ व्यक्तिल झुण्डेर आत्महत्या गरेका थिए भने दोस्रो स्थानमा बिस खाएर आत्महत्या गर्नेको सङ्ख्या रहेको थियो । उक्त सङ्ख्या प्रहरीमा दर्ता भएको वा प्रहरीको जानकारीमा आएको सङ्ख्या मात्र हो । वास्तविकतामा यो सङ्ख्या अझ बढी हुनसक्छ । नेपालमा प्रत्येक दिन सरदर १२ देखि १५ सम्म जना व्यक्तिले आत्महत्या गर्ने गरेको सरकारी आँकडाले देखाउँछ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवायुवतीहरूमा समेत आत्महत्या डरलाग्दो रूपमा बढेर गएको छ ।

     विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन् । यसरी हेर्दा प्रत्येक वर्ष सरदर ८ लाख भन्दा बढी व्यक्तिले आत्माहत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषको आत्माहत्या गर्ने दर झन्डै दुई गुणाले बढी छ । नेपालको परिपेक्ष्यमा महिलाहरूमा पनि आत्माहत्या गर्ने संख्या बढी छ । विश्वमा महिलाहरूले बढी आत्महत्या गर्ने देशहरूमा नेपाल तेस्रोमा पर्दछ । 

    लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलत्कार, लाञ्छना, लैङिगक विभेद, आर्थिक  परनिर्भता, दाइजो प्रथा, श्रीमानले सौता ल्याउनु तथा महिलाहरू सुत्केरी भएपछि हुने एक प्रकारको मानसिक रोग÷डिप्रेसन (पोष्टपाटम डिप्रेसन)का कारण नेपालमा महिलाहरूको आत्महत्या गर्ने दर बढी भएको हुन सक्छ ।
    आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० देखि ९५ प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागू पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गन सक्छ ।

    आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ । मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । आत्महत्या गर्ने व्यक्तिलाई नेपालको कानुनले अपराधी ठान्छ । धर्मशास्त्रले पापी भन्छ । समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।

    “हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल पनि बितेर जान्छ र आफ्नो आत्महत्याको सोच निर्णय र विचारमा परिवर्तन आउनु सक्छ, त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ । 

     संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ” मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो टवालो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन ।

    आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।  
     

    (लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)
     


     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार