काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ। शाह छाती दुखेपछि सोमबार उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए। अस्पतालमा उनलाई हृदयघात भएको पत्ता लागेपछि उपचार भइरहेको छ।
शाहको अवस्था सुधार हुँदै गएको र भोलि सम्ममा डिस्चार्ज हुन सक्ने चिकित्सकहरूलाई उदृत गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले बताए। उनले भने 'युवराज सरकारको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकहरूले बताउनु भएको छ, सम्भवत भोलि युवराज सरकारको डिस्चार्ज हुन्छ होला।' हाल उनको उपचारमा प्रा।डा। यादवदेव भट्ट, डा जेपी जैसवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।
पूर्वराजपरिवारका सदस्यहरू भने हाल काठमाडौंमा छैनन्। पूर्वराजा शाह सिमरामा छन्। छोरा अस्पताल भर्ना भएको थाहा पाउने बित्तिकै पूर्वरानी कोमल शाह भने सिमराबाट सडकमार्ग हुँदै काठमाडौं आएर छोरालाई भेटेकी छिन्। त्यसैगरी, पारस शाहकी श्रीमती हिमानी शाह र छोराछोरी थाइल्यान्डमा छन्।