काठमाडौं । लामो समय रंगमञ्चमा काम गरेका स्थापित रंगकर्मी किशोर अनुरागले कोरोनाका कारण थिएटर बन्द भएको अवस्थामा हास्य टेलिसिरियल निर्देशन गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा बनेको सिरियल ‘खाईस की’ ले समाजका विकृति विसंगति माथि प्रहार गर्ने उनले बताएका छन ।
समसामयिक विषयवस्तुमा आधारित रहेर यो टिलिसिरियल निर्माण गरिएको छ । टेलिभिजनको माध्यमबाट भरपूर मनोरञ्जनका साथसाथै सन्देश पनि दिने उद्देश्य रहेको निर्माण पक्षको भनाई छ । यसका निर्माताहरू ईश्वर बल्लभ उप्रेती, नविन खड्का र आनन्द प्रभाकर घिमिरे रहेका छन् । ईश्वर बल्लभ उप्रेती म्युजिक भिडियोमा जमेका मोडल हुन् भने नविन खड्का चलचित्र निर्माता हुन् ।
आनन्द प्रभाकर घिमिरे भने छायाँकार हुन् । नाटक, म्युजिक भिडियो, चलिचित्र, गायन, कविता, पत्रकारिता, मूर्तिकला, चित्रकला लगायत फरक–फरक विधामा काम गर्ने कलाकारले अभिनय गरेका छन् ।
कलाकार कलाकार नै हुन्छ, एक विधाको भाव अर्को विधाले बुझ्न सक्ने निर्देशक अनुराग बताउँछन् । विभिन्न विधाका कलाकारको सामूहिक प्रयास अभिनय क्षमता उक्त सिरियलमा हेर्न सकिनेछ । साउन २१ बुधबारदेखि काष्टमण्डप टेलिभिजनबाट प्रत्येक बुधबार साँझ ७ः३० बजे सिरियल हेर्न सकिनेछ । सेलीब्रेसन स्टुडियोमार्फत यो सिरियल युट्युबमा पनि हेर्न सकिने निर्माण पक्षको भनाई छ ।
यसमा निर्देशकसँगै ईश्वर बल्लभ उप्रेती, नविन खड्का, श्रीहरि चापागाँई, रोजिना कोइराला, याम मगर, सुमन विष्ट, अविना खड्का, स्नेहा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।