शनिबार, श्रावण ३० गते २०८३
images

पोखरामा थप एक जना कोरोना संक्रमितको पनि मृत्यु

  • 2.3K
    SHARES
  • भाद्र २, २०७७ मंगलबार

    पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन ।

    पोखरामै तनहुँकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको थियो ।

    पोखराका ८७ वर्षीय वृद्धलाई साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उनमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो ।

    डा. आचार्यका अनुसार उनमा डायबिटिज र मिर्गौलाको समेत समस्या थियो ।

    सुरुमा उनलाई इमर्जेन्सी विभागमा भर्ना गरेर उपचार थालिएको थियो । कोरोना संक्रमणको लक्षणसमेत देखिएकाले स्वाब परीक्षण गर्दा सोमबार उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

    उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचारमा खटिएका डाक्टरदेखि इमर्जेन्सी वार्डका स्वास्थ्यकर्मी गरी १३ जनालाई क्वारेन्टिनमा राखिएको छ भने इमर्जेन्सी वार्ड बन्द गरिएको छ ।

    पोखराकै एक अस्पतालबाट प्रतिष्ठानको अस्पतालमा उनलाई रिफर गरिएको थियो । कोरोनाको लक्षण देखिएकाले उनलाई प्रिआइसोलेसनमा राखेर उपचार गर्नुपर्ने थियो तर सीधै इमर्जेन्सीमा उपचारका लागि लगिएको थियो । जहाँ अन्य बिरामी पनि थिए भने चिकित्सकले पीपीईको प्रयोगसमेत नगरेको पाइएको छ ।

    मिर्गौलाको समस्याका कारण श्वासप्रश्वासमा समस्या देखिएकाले थप उपचार भइरहेको र पछिमात्र कोरोना संक्रमण पत्ता लागेको उपचारका खटिएका डा.अर्जुनबहादुर बुढाले बताएका छन । ‘प्रेसर र मिर्गौलाको समस्याले श्वासप्रश्वासमा समस्या रहेछ । पहिले उच्च ज्वरो पनि आएको रहेछ,’ डा. बुढाले भने, ‘हामीले इमर्जेन्सी विभागमै उपचार गरिरहेका थियौं । पछिमात्र कोरोना पुष्टि भयो ।’

    कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई आइसोलेसनमा र लक्षण देखिएका विरामीलाई प्रिआइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो । तर, सीधै इमर्जेन्सीमा भर्ना गरेर उपचार गराउँदा डाक्टर र अन्य बिरामीसमेत जोखिममा परेको चिकित्सककै भनाइ छ ।

    ‘पहिले प्रिआइसोलेसन थियो । तर, पछि त्यसलाई चलाइएन । हामीले पटक/पटक प्रिआइसोलेसनको व्यवस्था गर्न भन्दै आएका छौं,’ इमर्जेन्सीमा खटिने मुटु रोग विशेषज्ञ डा. अमृत केसीले भने, ‘यसो नहुँदा जोखिम मोलेर काम गर्नुपर्ने अवस्था आएको छ ।’

    ‘इमर्जेन्सीमा खटिने धेरै चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टिन बस्नुपर्ने भएपछि सञ्चालनमै समस्या भएको छ,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. आचार्यले भने, ‘अन्य विभागका चिकित्सक खटाएर वा वार्ड मर्ज गरेर भए पनि सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार