सोमबार, भाद्र १ गते २०८३
images

भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति स्वदेश फर्किए

  • 10.6K
    SHARES
  • फाल्गुण २१, २०७५ मंगलबार

    एजेन्सी । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडो स्वदेश फर्किएका छन् । दक्षिण अमेरिकी देशको केही दिनको भ्रमणपछि विपक्षी नेता गुएडो स्वदेश फर्किएका हुन् ।

    उनी स्थानीय समय अनुसार सोमबार बेलुका राजधानी काराकास पुगेका हुन् । उनलाई हजारौँ समर्थकले स्वागत गरेका छन । भेनेजुएलाका अधिकारीले पक्राउ गर्न सक्ने सम्भावनाका बिच पनि गुएडो स्वदेश फर्किएका हुन् ।

    उनी आफ्नो पक्षमा समर्थन बटुल्नका लागि केही दिनदेखि दक्षिण अमेरिकी देशको भ्रमणमा थिए । इक्वेडरका राष्ट्रपति लेनिन मोरिनोसँग शनिबार भेटवार्ता गरेपछि गुएडो सलिनासबाट बन्दरगाह रहेको शहर गुयाक्वीलका हुँदै भेनेजुएलाको राजधानी काराकास पुगेका हुन् ।

    भेनेजुएलाको सर्वोच्च अदालतले भ्रमणमा प्रतिबन्ध लगाए पनि गुएडो गएको हप्ता सीमा पार गरेर कोलम्बिया प्रवेश गरेका थिए । उनी अमेरिकासहितका देशबाट आएको मानवीय सहायता सामग्री भेनेजुएला प्रवेश गराउने प्रयासमा कोलम्बिया गएका थिए । राष्ट्रपति मादुरोको समर्थनमा रहेको सेनाले सहायता सामग्री रहेका ट्रक रोकेको थियो ।

    गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेपछि सर्वोच्च अदालतले उनीमाथि विदेश भ्रमण गर्न नपाउने गरि प्रतिबन्ध लगाएको थियो ।उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ ।

    मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ ।

    राजधानी काराकास पुगे लगत्तै नेता गुएडोले ठूलो र्‍यालीलाई सम्बोधन गर्दै भने, ‘उनीहरुले हामीलाई चेतावनी दिए र हामी अहिले यहाँ छौँ । हामी भेनेजुएलामै प्रस्तुत छौँ ।’

    गुएडोले राष्ट्रपति निकोलश मादुरोको राजीनामा माग गरे । एक महिना भन्दा लामो समयदेखि भेनेजुएला गुएडो र मादुरोमा विभाजित भएको छ ।

    केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।

    आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

    मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।

    विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

    भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार