अमेरिकाले नेपाललसहित दक्षिण एसियाका पाँच मुलुकसँग हिन्द प्रशान्त (इन्डो प्यासिफिक) रणनीतिअन्तर्गत रक्षा सहकार्य विस्तार गर्ने रणनीति सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)द्वारा सार्वजनिक हिन्द प्रशान्त रणनीति प्रतिवेदनमा नेपाललाई द्रुत आर्थिक विकास दरमा अघि बढेका एसियाका देशको सूचीमा राखेर रक्षा सहकार्य वृद्धि गर्ने भनिएको छ । अमेरिकी प्रतिवेदनमा हिन्द प्रशान्त रणनीतिका नयाँ साझेदार सदस्यमा नेपाल र श्रीलंका उल्लेख छ ।
नेपालसँग सहकार्यका यी क्षेत्र
‘नेपालसँग अमेरिका पिसकिपिङ अपरेसन, रक्षा व्यवसायीकरण, स्थल फोर्सको क्षमता अभिवृद्धि, प्रकोप व्यवस्थापन र प्रतिआतंकवादका सन्दर्भमा रक्षा सम्बन्ध विस्तार गर्न चाहन्छ,’ पेन्टागनको प्रतिवेदनमा उल्लेखित उपशीर्षकमा भनिएको छ । अमेरिकाले नेपालसँग सन् २०१८ मा युएस आर्मी इन्डोप्यासिफिक क्षेत्रका वरिष्ठतम् सैन्य अधिकारीको संवाद स्थापना भएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा थप भनिएको छ, ‘नेपालसँग थप रक्षा सम्बन्ध विस्तारका लागि यो वर्ष युएस इन्डो प्यासिफिक कमान्डका कमान्डर तथा उपसहायकमन्त्री तहको भ्रमण हुनेछ ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा अमेरिकी अधिकारीले नेपालले इन्डो प्यासिफिक क्षेत्रको शान्ति, विकास र समृद्धिमा केन्द्रीय भूमिका निर्वाह गर्न सक्ने धारणा बताएको औपचारिक रूपमा सार्वजनिक गरेका थिए । तर, नेपालले अमेरिकी रणनीतिमा नेपाल सामेल नहुने तर नेपालको हितका लागि द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने धारणा सार्वजनिक गर्दै आएको छ ।
‘दक्ष्णिा एसियामा भारतसँग हामी रक्षा साझेदारी सञ्चालन गर्न काम गरिरहेका छौँ । श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालसँग रक्षा साझेदारी बढाउँदै छौँ,’ अमेरिकी प्रतिवेदनमा उल्लेख छ, ‘आतंकवाद, सीमापार अपराध, अवैध ड्रग्स कारोबारजस्ता चुनौती सामना गर्न अमेरिकाले भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालसँग साझेदारी विस्तारको अवसर खोज्नेछ र क्षेत्रीय चुनौतीको सम्बोधन गर्नेछ ।’
एक लाख २८ हजार अमेरिकी डलरको प्रतिवेदन
शनिबार सार्वजनिक पेन्टागनको प्रतिवेदनमा कार्यबाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक एम सानाहानले हिन्द प्रशान्त क्षेत्र अमेरिकाको प्राथमिकतापूर्ण मञ्च रहेको तथा स्वतन्त्र र खुला हिन्द प्रशान्तको पक्षमा अमेरिका उभिएको उल्लेख गरेका छन् । पेन्टागनले १ लाख २८ हजार अमेरिकी डलर खर्च गरेर यो रिपोर्ट तयार गरेको पनि प्रतिवेदनमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्न लागेको उल्लेख गरेको छ । यीमध्ये १२ वटा सैन्य साझेदारी हिन्द प्रशान्त क्षेत्रमा हुनेछ । ‘अमेरिकाले ग्लोबल पिस अपरेसन इनिसिएटिभमार्फत १२ वटा हिन्द प्रशान्त देशसँग सैन्य साझेदारी वृद्धि गर्नेछ,’ पेन्टागनको प्रतिवेदनमा उल्लेख छ । १२ देशमा नेपाल, बंगलादेश, कम्बोडिया, फिजी, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, थाइल्यान्ड, टोङ्गा र भियतनाम छन् । भारत, कम्बोडिया, लाओस, बर्मा, नेपाल फिलिपिन्सलाई अमेरिकाले उच्च आर्थिक वृद्धिदर हासिल गरेका मुलुक भनेको छ ।
हिन्द प्रशान्त क्षेत्रमा मुस्लिमको सबैभन्दा ठूलो जनसंख्या छ भने संसारका ठूला दशमध्ये सात ठूलो आकारका सेना भएका देशहरूको क्षेत्र हो । सातमध्ये पनि यो क्षेत्रमा ६ वटा आणविक शक्तिसम्पन्न राष्ट्र छन् ।
अमेरिकी प्रतिवेदनअनुसार हिन्द प्रशान्त क्षेत्रमा दुई हजारभन्दा बढी अमेरिकी फाइटर जहाज छन्, जहाँ जलसैन्य प्रयोजनका लागि २०० पानीजहाज छन् । कुल ३ लाख ७० हजार सेना यो क्षेत्रमा छन् । जापान र दक्षिण कोरियामा अमेरिकी सेनाको ठूलो संख्या छ । एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको व्यापार २३ खर्ब डलर छ भने यो क्षेत्रमा उसको प्रत्यक्ष वैदेशिक लगानी १३ खर्ब डलर छ ।