एजेन्सी, माघ १४ । अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र एनओआरसीले गरेको संयुक्त जनमत सर्वेक्षणमा सिरिया र सम्भवत अफगानिस्तानबाट अमेरिकी सेना हटाउने राष्ट्रपति ट्रम्पको योजनाका बारेमा पनि अमेरिकी समाज विभाजित देखिएको छ ।
समग्रमा, सर्वेक्षणमा सहभागीले राष्ट्रपति ट्रम्पले विदेश नीति सञ्चालनमा परिपक्वता नदेखाएको भन्दै न्यून अङ्क दिएका छन् । सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रपतिका नीतिलाई समर्थन गरेका छन् भने ६३ प्रतिशतले अस्वीकार गरेका छन् । अरु विषय झैं, पक्षधरताको विषय निकै रोचक देखिएको छ । रिपब्लीकन पार्टीसँग आबद्ध व्यक्तिहरुमध्ये ७६ प्रतिशतले राष्ट्रपति ट्रम्पका नीतिको समर्थन गरेका छन् जबकी ८ प्रतिशत डेमोक्र्याटले राष्ट्रपतिका कदमको समर्थन गरेका छन् ।
“रसिया होस् वा उत्तर कोरिया, दुबै मुलुकसँगको सम्बन्धमा सुधार आउने सम्भावना कमै छ,” कोलम्बियाकी ३० वर्षीया शिक्षिका समान्था फ्लावर्सले बताए । “साथै, छिमेकी मुलुकहरु खासगरी मेक्सिकोसँगको सम्बन्धमाथि पनि विचार गरौं न । ट्रम्पले समर्थन गरेपनि उनीहरु अमेरिकी मूल्यमान्यता विपरीत चलिरहेका छन्,” उनले बताए ।