एजेन्सी । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन् ।
उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई निष्कर्षमा पु¥याउन आणविक कार्यक्रमको विस्तृत विवरण आवश्यक पर्ने बताएका छन ।
स्टानफोर्ड विश्वविद्यालयमा आयोजित समारोहमा बोल्दै उहाँले भने, “आणविक निःशस्त्रीकरणलाई अन्तिम रुप दिनुअघि हामीले उत्तर कोरियासँग रहेका आमविनाशकारी क्षेप्यास्त्र कार्यक्रमको पूर्ण जानकारी चाहेका छौं ।”
उनले वार्तामा प्रगति नभए अमेरिकासँग वैकल्पिक योजना रहेको समेत बताए, तर त्यसबारेमा उनले केही खुलाएनन् ।
उत्तर कोरियाले अमेरिकी मागलाई बेवास्ता गरिरहेको छ । अमेरिकालाई सबै कुरा बताए आफूहरु असुरक्षित हुने उत्तर कोरियाको भनाइ छ ।
बाइगनले अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई प्रमाणयोग्य तरिकाबाट नष्ट गरेको विवरण चाहेको पनि बताएका छन । “हामीले उत्तरका प्रमुख स्थलहरुमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विज्ञहरुको पहुँच र अनुगमन संयन्त्र निर्माण गर्न चाहेका छौं । हामी उत्तर कोरियाले आणविक हतियार निर्माण गर्ने सामग्री, आणविक अस्त्र, क्षेप्यास्त्र, लन्चरहरु र अरु आम विनाशकारी हतियार नष्ट गरेको सुनिश्चित गर्न चाहन्छौं ।”