काठमाडौं । नायक अनमोल केसी अभिनीत नयाँ चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि क्याप्टेनको ट्रेलर सार्वजनिक गरिएहो हो । चलचित्रमा अनमोल केसी पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत हुँदैछन् । यही चलचित्रमार्फत अनमोलको जोडी बनेर दुई अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीले सिनेमा क्षेत्रमा डेब्यु गर्दैछन् ।
सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । ‘क्याप्टेन’मा सदाबहार अभिनेता भुवन केसीको लगानी रहेको छ । सिनेमा आगामी फाल्गुन १७ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुँदैछ ।
सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् ।
सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।