सरकारले भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको ‘म्युनिख’ विमानस्थललाई दिने प्रक्रिया अघि बढाएको छ । ‘जिटुजी’ ९नेपाल सरकार– जर्मन सरकार०मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा त्यहाँको दोस्रो ठूलो विमानस्थल ‘म्युनिख’ लाई दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार पुस दोस्रो सातासम्ममा प्रस्ताव तयार पारेर सम्झौता सहमतिका लागि मन्त्रिपरिषद् पठाउने तयारी छ । मन्त्रिपरिषद्को निर्णयसँगै दुईपक्षीय सम्झौता हुनेछ ।
एक वर्षअघिदेखि विभिन्न अनौपचारिक छलफल भइरहे पनि म्युनिखले तीन साताअघि मात्रै नेपाल सरकारलाई विस्तृत प्रस्ताव पठाउँदै पहिलो चरणमा चार वर्षको सञ्चालनको जिम्मा लिने र त्यसपछि अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने प्रस्ताव राखेको छ । सरकारले सोही प्रस्तावका आधारमा दुईपक्षीय छलफललाई तीव्रता दिएको छ । ‘म्युनिख’ले गत वर्ष माघमा नेपाललाई अनौपचारिक प्रस्ताव गरेको थियो । गत साउन पहिलो साता नेपाललाई औपचारिक पत्र लेख्दै भैरहवा विमानस्थल सञ्चालनको जिम्मा दिन आग्रहसहितको पत्र पठाएको थियो ।
म्युनिखको प्रस्तावलाई साउन अन्तिम साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्समक्ष राखेको थियो । त्यसमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेको छ । सैद्धान्तिक सहमतिसँगै मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले ‘म्युनिख’को टोलीसँग विभिन्न चरणमा वार्ता गरेको थियो । त्यसपछि मन्त्रालयले ‘म्युनिख’लाई विस्तृत प्रस्ताव पेस गर्न आग्रह गरेको थियो ।
आफैँ वा स्वदेशी कम्पनीले सञ्चालन गर्न भन्दा केही वर्ष विदेशी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिँदा धेरै कुरा सिकिने नेपाली टोलीको बुझाइ छ । विदेशी कम्पनीले भित्र्याएको व्यवस्थापन कला र नयाँ प्रविधि उपयोग गर्दै पछि आफैं सञ्चालन गर्न सहज हुनेछ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।