अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एक मिम सेयर गरेपछि विश्वभर यस विषयले चर्चा पाएको छ।
उक्त मिम सन् २०१८ जनवरी २४ मा डेभ स्क्रिबर नामको अकाउन्टबाट सेयर भएको थियो।
त्यहाँ जिसस क्राइस्ट फोटो छ। इसाइ धर्म मान्नेहरु जिससलाई भगवानको अवतारको रुपमा मान्ने गर्दछन्। त्यहाँ लेखिएको छ,‘ओबामाले मलाई लखेटे, ट्रम्पले मलाई फिर्ता आउन निम्तो दिए।’
ट्रम्पले झन्डै दुई वर्ष अगाडिको मिम रिट्विट गरेर ओबामाले लखेटेका क्राइस्टलाई आफूले बोलाएको भनाइमा समर्थन जनाएपछि यस विषयमा थुप्रै टिका टिप्पणीहरु सुरु भएका छन्।
क्रिसमस डेको केही दिनमै ट्रम्पले उक्त मिम ‘धन्यवाद’ भनेर सेयर गरेका हुन्।
मानिसहरुले ट्रम्पको रिट्विटमा मिश्रित प्रतिक्रिया जनाएका छन्। केहीले ट्रम्पले साँच्चै जिसस अमेरिका फर्कायो बताइरहेका छन् भने केहीले ट्रम्पले जिससको मार्गनिर्देशन पटक्कै नपछ्याएको प्रतिक्रिया जनाएका छन्।
केहीले ओबामा अमेरिकाका सफल राष्ट्रपति भएकाले उनको नाम यस्टा ठट्टाको विषयमा मिसाउन नहुने बताइ रहेका छन्।
बाराक ओबामाले आफ्नो कार्यकालमा सबै धर्मका मानिसलाई, आप्रवासीहरुलाई अमेरिकामा स्थान दिएका थिए। ट्रम्पले भने मुस्लिम समुदायका मानिसलाई अमेरिकामा प्रवेश गराउन कडाइ गरेका छन्। ट्रम्पले आप्रवासीमाथि पनि कडा नीति अपनाएका छन्। एजेन्सी