मंगलबार, भाद्र २ गते २०८३
images

एक ‘असामाजिक’ प्राणीको बकपत्र

  • 9.5K
    SHARES
  • माघ २३, २०७५ बुधबार

    ‘भर्चुअल स्पेस’मा विचरण
    दशकअघिसम्म चोक–चोक र चियापसलमा खेलिने क्यारमबोर्ड अहिले लगभग लोप भइसकेको छ । क्यारेमका फुर्सदिला खेलाडीले स्वदेशमै रोजगार पाएर वा कतार–मलेसिया पलायन भएका कारण क्यारम लोप भएको पक्कै होइन । कोठा, चोक वा मैदानमा हात र खुट्टा चलाएर खेलिने खेल अब किबोर्ड वा टचस्क्रिनमा औँला चलाउँदै ‘भर्चुअल स्पेस’मा खेल्न सकिने भएकाले मानिसका रुचि बदलिएका हुन् । हातहातै एन्ड्रोइड फोनसँगै गाम, बेसी, सहर सर्वत्र इन्टरनेटको दबदबा बढेपछि अब मानिसलाई खेल खेल्न वास्तविक पार्टनर खोजिरहनुपरेन । मोबाइल वा कम्प्युटरको काँचको पर्दामा टुप्लुक्किने परिचित वा अपरिचित पार्टनरसँग गेम खेल्ने वा च्याट गर्ने सुविधा अब इन्टरनेटले उसलाई जुराइदिएको छ । घरमा खेल्नुस् वा साइबर क्याफे या कफी सपमा, तपाईं सुविधाअनुसार भर्चुुअल स्पेसमा विचरण गर्न सक्नुहुन्छ ।

    सामाजिक सञ्जालको जन्जाल
    इन्टरनेटको पहुँचमा रहेका कुनै पनि साक्षर नेपाली सायदै फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको प्रयोगबाट अलग–अछुत पाइएलान् । विद्यालयमा अभिभावक आफ्ना किशोर छोराछोरीको फेसबुक र इन्स्टाग्रामको लतले पढाइ लथालिंग बनाएको बारे शिक्षकसँग गुनासो गरिरहेका हुन्छन् । सामाजिक सञ्जालका कारण आफ्ना सन्तति असामाजिक र एकलकाटे बन्दै गएको चिन्ता उनीहरूमा पाइन्छ । अझ, युवा जमातको मुटु र मस्तिष्कका नसा र धमनीमै फेसबुक र इन्स्टाग्राम बगिरहेका हुन्छन् । आफ्ना पलपलका तस्बिर र मनभित्र उद्वेलित तरंग उनीहरू क्षण प्रतिक्षण पोस्ट गरिरहेका हुन्छन् । जागिरेदेखि गृहिणीसम्म आफ्ना व्यावसायिक, घरायसी अनि निजी जीवनका क्रियाकलापका तस्बिर र सन्देशमार्फत फेसबुकका भित्ता सजाइरहेका हुन्छन् । अनि पत्रकार, पेसाकर्मी, राजनीतिकर्मी, प्राज्ञिक र बौद्धिक त झन् आफ्ना टिप्पणी र सन्देशमार्फत राष्ट्रकै सामाजिक र राजनीतिक स्पेसमा भुइँचालो वा तरंग ल्याउन उद्यत देखिन्छन् । सिनेमा र संगीतका झैँ ट्विटका सेलेब्रिटीको पनि दमदार उपस्थिति समाजमा देखिन्छ । मानिसको प्रसिद्धि उसका ‘फ्रेन्ड्स सर्कल’ र ‘फलोअर्स’को संख्याबाट पनि मापन हुन थालेको छ । 

    सामाजिक सञ्जाल इन्टरनेटको पहुँचमा रहेको नेपाली जनसंख्याको एउटा अभिन्न अंग बनिसकेको परिस्थितिमा यदि कोही व्यक्ति अपवादका रूपमा निरपेक्ष वा निरुत्सुक भेटिएमा ऊसँग अनेक प्रश्न गरिन्छ । कतै ऊ असामाजिक बन्दै गएको त छैन भन्दै संशयको चस्माले हेरिन्छ । आजको दिनमा पनि सामाजिक सञ्जाल प्रयोगविना व्यक्ति सुसूचित र गतिशील रहन सक्छ रु एउटा सञ्चारकर्मी, त्यसमाथि पनि देशको अग्रणी खबरपत्रिका ९हिमाल०का नियमित स्तम्भकार, सामाजिक सञ्जालको प्रयोगविना तपाईं आफूलाई कसरी ‘अपडेट’ राख्नुहुन्छ, आफ्ना स्तम्भका प्रतिक्रियाबारे कसरी जानकार हुन सक्नुहुन्छ रु आफू सामाजिक सञ्जालको प्रयोगकर्ता नहुनाले यस्ता धेरै प्रश्नको सामना गर्दै आइरहेको छु । तर, सामाजिक सञ्जालबाट पर रहेका कारण आफूले खासमा के गुमाएछु भन्नेबारे आत्मसमीक्षा भने गरेको छैन । तर, जीवनको गति र जिजीविषामा सामाजिक सञ्जाल निरपेक्ष रहेकै कारण ब्रेक लागेको अनुभूति गरेको पनि छैन । देशको राजधानी भए पनि विश्व सहरको दृष्टिले मझौला सहर काठमाडौंको बासिन्दा म, साथीसंगति र आफन्त भौतिक रूपमा भेट्दै भलाकुसारीमा रमाउँदै आएको छु । मैले आजसम्म फेसबुक, ट्विटर, इन्स्टाग्रामका एकाउन्ट खोलेको छैन । धेरै ठाउँबाट सम्पर्कका लागि अनुरोध आएपछि ‘लिन्कड्इन’को झ्याल भने खुला छाडिदिएको छु, विशुद्ध व्यावसायिक सम्पर्कका लागि । तर, व्यावहारिक रूपमा म सामाजिक सञ्जालको कोलाहलदेखि बिल्कुलै पर छु । कसैसँग सम्पर्क गर्नु जरुरी रहेमा इमेल, भाइबर र फोन प्रयोग गर्दै आएको छु । हो, कहिलेकाहीँ स–साना सूचनाबारे अनभिज्ञ भइरहेको हुन्छु । सात समुद्रपारिको तेह्रदिने आफन्तले सन्तान लाभ गरेपछि सुतक परेछ, को बिदा मनाउन बैंकक पुगेछ, कसको सरुवा वा प्रमोसन भएछ, कसको जन्मदिन कहिले परेछ, कसको लगनगाँठो गाँसिँदै रहेछ भन्नेजस्ता खबरबाट अनभिज्ञ रहे पनि ठूलै कुरा ‘मिस’ गरेजस्तो अनुभूति गर्दिनँ । तर, राष्ट्रिय वा अन्तर्राष्ट्रिय महत्वका खबर भने सामाजिक सञ्जालमा नरहँदा पनि आफूसम्म आइपुग्दा रहेछन् । राष्ट्रिय वा अन्तर्राष्ट्रिय व्यक्तित्वका महत्वपूर्ण ‘सेयर’ र ‘ट्विट’ सञ्चारमाध्यले आफ्ना पाठकसम्म पु¥याउँदै आएकै छन् ।

    लत र प्रदर्शन वृत्ति
    सामाजिक सञ्जाललाई सायद अम्मल नै ठानेर हुनुपर्छ, कतिपय प्रयोगकर्ताले यसबाट छुटकारा पाएको सगर्व बताउँछन् । छुटकारा त्यस्ता वस्तु वा लतबाट लिइनुपर्छ, जसको प्रयोग शारीरिक वा मानसिक स्वास्थ्यका लागि हानिकारक हुन्छ । प्रश्न उठ्छ, चुरोट वा लागुपदार्थजस्तै सामाजिक सञ्जालको लत हानिकारक छ त रु कतिपय अनुसन्धाताले सामाजिक सञ्जाल र खासगरी फेसबुक चुरोटको अम्मलभन्दा पनि खतरनाक भएको जिकिर गरेको पाइन्छ । यसबारे कुनै निचोड प्राप्त नभए पनि प्रशस्तै बहस भने हुँदै आएको छ । दिनमा कति घन्टा चलाए वा कुन अवस्थामा सामाजिक सञ्जाल हानिकारक हुन सक्छ यसको ‘पोलिटिकल करेक्ट’ उत्तर सायदै कसैसँग होला । तैपनि, सामान्य बुद्धिद्वारा तर्क गर्न भने सकिन्छ, आफ्ना काम, सामाजिक अन्तरक्रिया र निद्रासमेत मारेर काँचको पर्दामा टाँसिइराख्नु हानिकारक पक्कै हो । 

    कतिपय अनुसन्धाताले सामाजिक सञ्जाल र खासगरी फेसबुक चुरोटको अम्मलभन्दा पनि खतरनाक भएको जिकिर गरेको पाइन्छ । यसबारे कुनै निचोड प्राप्त नभए पनि प्रशस्तै बहस भने हुँदै आएको छ ।

    सामाजिक सञ्जाल प्रयोगको सबैभन्दा ठूलो मनोविज्ञान ‘एक्जिबिसनिज्म’ अर्थात् प्रदर्शनवृत्ति हो । मलेखुमा माछा खाएको, त्रिशूलीमा नुहाएको, विमानस्थलमा बोर्डिङ पास लिएको, नयाँ चस्मा वा जुत्ता लगाएको जस्ता झिनामसिना क्रियाकलापका फोटा पोस्ट गर्नु प्रदर्शनवृत्ति हो । आफ्ना निजी वा वैयक्तिक विषयमाथि अन्य व्यक्तिको ध्यान खिच्न पनि प्रयोगकर्तामा प्रदर्शनवृत्ति देखिन्छ । उदाहरणका लागि, पति–पत्नीसमेतले एक–अर्काप्रतिको प्रेम वा अनुराग सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्नु प्रदर्शनवृत्ति नै हो । एउटै ओछ्यानमा सुत्ने उनीहरूलाई आफ्ना प्रेम वा अनुराग खुला र प्रत्यक्ष प्रकट गर्न आखिर केले नै छेक्न सक्छ र रु 

    महान हास्यकलाकार चार्ली च्याप्लिनलाई सिनेमाको संवेदनात्मकतामाथि प्रदर्शनवृत्ति हावी हुने घटनाले खिन्न बनाउँथ्यो । कथाको भन्दा दर्शकको मागलाई सिनेमामा कसरी रिझाइन्छ भन्ने कुराको दृष्टान्त उनले एक दृष्टिविहीनलाई बाटो कटाइदिएपछि ह्याट खोलेर अभिवादन गर्नुपरेको सिनबाट व्याख्या गरेका थिए । दृष्टिविहीन देख्न सक्दैनन्, तर दृष्टि भएका दर्शकका खातिर ह्याट फुकाल्दै अभिवादन गर्नु प्रदर्शनवृत्ति रहेको तर्क च्याप्लिनको थियो ।  

    आत्मकेन्द्रित ‘सेल्फिइज्म’
    सामाजिक सञ्जाल प्रयोगको एउटा अर्को महत्वपूर्ण पक्ष ‘सेल्फइन्डल्जेन्स’ अर्थात् आत्मनिरति हो । प्रयोगकर्ता आफ्ना पोस्टले निश्चित समयभित्र ओइरिने ‘लाइक’ र ‘कमेन्ट’को कसीमा आफ्नो सम्बन्ध र लोकप्रियता मापन गरिरहेको हुन्छ । अत्यधिक ‘लाइक’ र सकारात्मक ‘कमेन्ट’बाट पुलकित ऊ न्यून ‘लाइक’ र नकारात्मक ‘कमेन्ट’बाट बिचलित बन्छ र त्यस्ता ‘फ्रेन्ड्स सर्कल’बारे आफ्नो आग्रह निर्माण गर्छ । तर, उसको आग्रह त्यतिखेर मिथ्या साबित हुन्छ, जतिवेला उसका पोस्टमाथिका ‘लाइक’ वा सकारात्मक ‘कमेन्ट’ वास्तविक हुँदैनन्, ती केवल शिष्टाचार वा सौजन्यवश प्रकट गरिएका हुन्छन् । ‘लाइक’को अर्थ मनपराइनु नहुन पनि सक्छ, किनकि चतुर टिप्पणीकर्ताले सौजन्य वा कूटनीतिका खातिर यसो गरिरहेको हुन सक्छ । ‘लाइक’ वा ‘कमेन्ट’ले ‘परसेप्सन’ ९अनुभूति० निर्माण हुन सक्छ । तर, सत्यको निकट पुग्न सकिँदैन । 

    आफ्ना मामुली क्रियाकलाप र निरर्थक प्रवचन ‘पोस्ट’प्रति अत्यधिक ‘लाइक’ र प्रशंसायुक्त ‘कमेन्ट’को अपेक्षा राख्नु केवल आत्मरति हो । भूकम्प, बाढी र शीतलहरपीडितलाई एक कार्टुन चाउचाउ र एक थान ब्ल्यांकेट थमाउँदै सेल्फी खिच्दै र त्यसलाई फेसबुकमा पोस्ट गर्नेहरू प्रशस्त भेटिन्छन् । जीवनभर घुस खाएकाहरूबाट सदाचारको, पीडकबाट करुणाको, अल्छीबाट उद्यमशीलताको, धोकेबाजबाट प्रेमका प्रवचन र सन्देश प्रवाह हुनु विडम्बना मात्र हो । त्यस्ता पोस्टमा के तपाईं ‘लाइक’ गर्न सक्नुहुन्छ रु यो प्रवृत्ति आत्मकेन्द्रित अभीप्षा वा आत्मनिरतिसिवाय अरू केही हुन सक्दैन ।

    सल्लाहको सकस
    मेरो सामाजिक सञ्जाल निरपेक्षताबारे मित्र तथा जिज्ञासुहरू प्रश्न उठाउँछन् । यसको प्रयोग उत्तम कि यसबाट परहेज, मसँग कुनै उत्तर छैन । उत्तर दिने नैतिक अधिकार त झनै छैन । अरूको आबद्धतालाई लत वा दुव्र्यसन र आफ्नो निरपेक्षतालाई सन्तुलित जीवनको अर्थमा व्याख्या गर्नु आत्मरति मात्र हो । मानिसले ती विषयउपर मात्र बोल्ने वा राय दिने अधिकार राख्नुपर्छ, जसबारे ऊ अनुभवी छ । महात्मा गान्धीसँग जोडिएको एक प्रसंग यहाँ सान्दर्भिक हुन सक्छ ।

    सावरमतीको गान्धी आश्रममा एक महिला आफ्ना एक सन्तानसहित गान्धीलाई भेट्न पुगिन् । सानै उमेरमा लाग्ने प्रकारको एक डाइबिटिज देखिएकाले चिकित्सकले ती महिलालाई उनका बच्चालाई गुलियो पदार्थबाट कम्तीमा दुई हप्ता पर राख्न भनेछन् । तर, बालक र गुलियो आफैँमा अन्योन्याश्रित भइहाले, कसरी एक बालक दुई हप्तासम्म गुलियो परहेज गर्न सक्थ्यो र १ अनेकौँ प्रयासबाट हार खाएकी ती आमाले गान्धीलाई अनुनय गरिन्— बापु, तपाईंले सम्झाइदिनुभए मेरो बच्चाले मान्थ्यो कि रु ती महिलाको याचना सुनेपछि गान्धीले भने, ‘हुन्छ म उसलाई सम्झाउँछु, तर अहिले होइन, दुई सातापछि मात्र ।’दुई सातापछि ती महिला आफ्ना सन्तानसहित फेरि सावरमती पुगिन् । अनि, गान्धीले उनलाई भने— हेर तिम्रो बच्चालाई दुई साता गुलियो नखाऊ भन्नका लागि सबैभन्दा पहिले त म स्वयंले गुलियो छोड्न सकिन्छ कि सकिँदैन भनेर एउटा प्रयोग गर्नुपथ्र्यो, त्यसैले मैले तिमीलाई दुई सातापछि आउन भनेको हुँ ।’ नयां पत्रिका दैनिकमा समाचार छ। 

    हामी अरूलाई नमागेको सल्लाह मात्र दिँदैनौँ, आफ्ना फिट्टी अनुभव वा विज्ञता नभएका विषयमा उपदेश वा प्रवचन दिन्छौँ । हाम्रा तथाकथित ज्ञान पुस्तकबाट आर्जित हुन्छन्, वा कुनै ज्ञानी, सन्तका वचनलाई आफूअनुकूल ‘रिसाइकल’ गरेर सित्तैको सल्लाह दिन्छौँ । आफूलाई सामाजिक सञ्जालको पक्ष वा विपक्षमा उभ्याउन यसका फाइदा वा हानिबारे अनुभव बटुल्न जरुरी छ । यसको प्रयोगकर्ता बनेर परीक्षणपश्चात् दिइएको राय इमानदार र व्यावहारिक दुवै हुन सक्छ । अहिले म आफैँ रनभुल्लमा छु, सल्लाहका लागि ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार