भारत अतिक्रमित दार्चुलाको कालापानी, लिपुलेक क्षेत्रको सुरक्षाका लागि सरकारले व्यास गाउँपालिका–१ छाङरुको गागामा सशस्त्र प्रहरीको बोडर अब्जर्भर पोस्ट ९बीओपी० राख्ने भएको छ । स्थानीयले भने कालापानी या कौवामा यस्तो पोस्ट राख्न सुझाएका छन् । गागाबाट कालापानी १२ किलोमिटर दूरीमा पर्छ । भारतले त्यसको माथि लिपुलेकसम्म नेपाली भूमि अतिक्रमण गरिसकेको छ । कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी गएदेखि व्यासका बासिन्दाले नेपाली सुरक्षा टोली स्थायी रूपमा राख्न माग गर्दै आएका थिए । अहिले व्यासका दुई बस्ती छाङरु र तिंकरमा नेपाल प्रहरी ६ महिना मात्रै बस्दै आएका छन् ।
ढिलै भए पनि सरकारले सशस्त्र सुरक्षाकर्मी राख्ने निर्णयले खुसी लागेको स्थानीय बताउँछन् । ‘हामीले व्यासमा विगतदेखि स्थायी सुरक्षा निकायको उपस्थिति हुनुपर्ने माग राख्दै आएका थियांै । बल्ल भारतले व्यासको अधिकांश भूभाग अतिक्रमण गरेर सडक बनाएपछि राख्न लागिएको छ,’ स्थानीय दानसिंह तिंकरीले भने, ‘छाङरुको गागाभन्दा नेपाली सुरक्षा टोली पनि कालापानी आसपासमै राखिनुपर्छ ।’ गागा तथा तिंकरमा भन्दा कालापानी नजिक कौवा क्षेत्रमा राखे उपयुक्त हुने उनको सुझाव छ ।
गागामा ६ महिना नेपाल प्रहरीको उपस्थिति रहँदै आएको छ । अतिक्रमित क्षेत्र नजिक सुरक्षाकर्मीको उपस्थिति गराउन सके सीमा क्षेत्र निगरानी र सुरक्षामा सजिलो हुने उनको भनाइ छ । कालापानी, लिपुलेक र तिंकर भन्ज्याङलगायत सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढी आवश्यक रहेको स्थानीय बताउँछन् । कौवा, तिंकर भन्ज्याङ, टाटा लगायतमा ठाउँहरूमा भारतीय सुरक्षाकर्मी बर्दीमै हतियारसहित गस्ती गर्ने गरेको स्थानीय जितसिंह बोहराले बताए । ‘कहिलेकाहीं बिनाबर्दी र हतियार बोकेर त हाम्रै बस्ती भएकै ठाउँमा पुग्छन् ।
ठूलो व्यास क्षेत्रमा दुई बस्ती भएको र सुरक्षा पहुँच बाहिर रहेको हुनाले भारतीय सुरक्षाकर्मीले यहाँका प्राकृतिक स्रोत उपभोग गरिरहेका छन्,’ बोहराले भने, ‘तल्लो कौवा क्षेत्र गुन्जीमा र माथिल्लो कौवाको घनाजंगल कालापानीमा बस्ने भारतीय सुरक्षाकर्मीले सखाप पारेका छन् । कौवाभन्दा माथिको भूभाग हाम्रो पहुँच बाहिर छ ।’आजको कान्तिपुर दैनिकमा समाचार छ।