धेरै ठाउँमा बोर्डर आउट पोस्ट (बिओपी)का भवन छैनन्, विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । नेपाली सुरक्षाकर्मीले सिम पनि भारतकै प्रयोग गर्नुपर्छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतीय बाटो हिँड्नुपर्छ ।
सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । कोरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन् धेरै बिजोग छ । हुरी, बतास आउँदा र पानी पर्दा उनीहरू पाल समातेर बस्न विवश छन् ।
भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् । बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहरूले भारतकै सिम प्रयोग गर्नुपर्छ । ‘कोइलाबासबाहेक अन्य कुनै पनि स्थानमा हाम्रो फोनले काम गर्दैन । कतैकतै स्काईको सिमले काम गरे पनि भरपर्दो छैन । जिल्लासँग सम्पर्क गर्नुपर्दा र इन्टरनेट प्रयोग गर्नुपर्दा भारतीय सिमको प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सशस्त्र प्रहरी बल कोइलाबासका इन्स्पेक्टर विशाल पाण्डेले भने, ‘यसो गर्दा सुरक्षा जोखिम त छ, तर अर्को उपाय पनि छैन ।’ अस्थायी पोस्टहरू स्थानीय विद्यालयमा राखिएका छन् ।
सुरक्षाकर्मीले दैनिक उपभोग्य सामान पनि भारतबाटै ल्याउनुपर्छ । विद्युत् नहुँदा सोलारबाट सञ्चारसेट चार्ज गर्छन् । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ । ‘नेपालतर्फ सडक सञ्जाल जोडिएको छैन । त्यसैले एउटा पोस्टबाट अर्कोमा जानुपरे भारतकै सडकको प्रयोग गर्नुपर्छ,’ इन्स्पेक्टर पाण्डेले भने, ‘अर्को देश भएकाले भारतीय अनुमति नलिई हातहतियार पनि बोक्न पाउँदैनौँ ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।