मंगलबार, भाद्र २ गते २०८३
images

कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको मृत्यु

  • 2.4K
    SHARES
  • माघ १९, २०७६ आइतबार

    नोवेल कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ। फिलिपिन्सको मनिलामा कोरोना भाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको बिबिसीले जनाएको छ ।

    ती व्यक्ति कोरोना भाइरस पहिलो पटक पत्ता लागेको चीनको वुहान शहरबाट फिलिपिन्स फर्किएका थिए। फिलिपिन्स आइपुग्नु अघि नै उनी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको बताइएको छ । भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न रोक लगाएको छ।

    कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम तीव्र गतिमा बढेपछि विश्वव्यापी रुपमा सतर्कता बढाइएको छ । विश्वका धेरै देशहरुले कोरोनाको प्रकोप आफ्नो देशमा फैलन नदिन अनेकन उपायहरु अबलम्बन गरिरहेका छन् ।

    अमेरिका र अष्ट्रेलियाले पछिल्ला दुई हप्ता चीन भ्रमण गरेका विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश निधेष गरेको छ। यस्तै अमेरिकामा चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालिएको छ ।

    यस अघि रसिया, जापान, पाकिस्तान र इटाली लगायतका देशहरूले यस्तै यात्रा प्रतिबन्धको घोषणा गरेका थिए। चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार