बिश्व अहिले कोरोनासंग जुधिरहेको छ भने धेरै देशमा लकडाउन गरिएको छ । हाम्रो देश नेपाल पनि अहिले यो भाइरससंग लडिरहेको छ । ७५ दिनदेखि रहेको लकडाउनले जनजीवन नै अस्तव्यस्त बनाएको छ । अष्ट्रेलियाबाट नेपाल आउन १३ सय नेपालीले आबेदन दिएको भएपनि ११ जना मात्र यात्रु बोकेर विमान फर्किएको छ । उनीहरुलाई मात्र प्राथमिकतामा राखेर उद्धार गरिएको सीसीएमसीका एक अधिकारीले बताएका छन् । सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ ।
तर मंगलबार राति १० बजे अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्स २६० भन्दा बढी सिट खाली राखेर फर्कदैछ । यस अघि नै अष्ट्रेलियास्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने र समस्यामा परेका नेपालीले हवाई भाडा तिर्नुपर्ने भन्दै सूचना निकालिसकेको छ । पहिले पनि नेपाल एयरलाइन्स दुई पटक अष्ट्रेलियामा पुगेर रित्तै फर्किएको थियो । स्रोतका अनुसार आज बिरामी दम्पती,एकजना अष्ट्रेलियामै अलपत्र परेकी महिला र दुईजना गृह मन्त्रालयका तालिमका लागि पुगेका कर्मचारी सहित ११ जना मात्र आउन पाएका छन् ।
अन्य भने केही नेता र सरकारको उच्च अधिकारीका आफन्त तथा चिनजानका मान्छेहरू रहेको स्रोतको भनाइ छ । उनीहरुमध्ये ५ जना दूतावासको प्राथमिकताको सूचीमा परेका थिए । क्यानबेरा पुगेको विमान केही यात्रु मात्रै टिपेर नेपाल फर्किएपछि त्यहाँ अलपत्र परेका अन्य नेपालीले समाजिक सञ्जालमा आक्रोश पोखेका छन् । प्राथमिकता क्रममा नपरेका कारण अन्यलाई नल्याइएको बताइएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले नेपालीहरुलाई पहिलो फ्लाइटबाट प्राथमिकताका आधारमा २७० जनाको उद्धार गर्ने बताएको भएपनि चार्टर्ड गरेर अष्ट्रेलिया पुगेको विमान भने रित्तै फर्किएको छ ।