मंगलबार, भाद्र २ गते २०८३
images

साउदी युवराज पाकिस्तानमा, २० अर्ब डलरको सम्झौता

  • 3.5K
    SHARES
  • फाल्गुण ६, २०७५ सोमबार

    एजेन्सी । साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान दुई दिने भ्रमणका लागि पाकिस्तानमा छन् । भ्रमणको क्रममा युवराज मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरेका छन् ।

    यसमा ग्वादर नजिक एक तेल रिफाइनरीमा ८ अर्ब डलर लगानी गर्ने कुरा पनि सामेल छ । क्राउन प्रिन्स सलमानले पाकिस्तानको भविष्य उज्यालो रहेको बताएका छन् ।

    उनले भनेका छन्, ‘पाकिस्तानले गएको वर्ष पाँच प्रतिशतको आर्थिक प्रगति ग¥यो र अहिलेको नेतृत्वमा पाकिस्तानको भविष्य निकै सुनौलो छ ।’

    पाकिस्तानको सम्भावनालाई देखेर नै साउदी अरेबियाले लगानी गरेको र यो पाकिस्तानमा साउदी लगानीको सुरुवात मात्रै रहेको उनले बताएका छन् ।

    साउदी क्राउन प्रिन्सलाई स्वागत गर्नका लागि पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद विमानस्थल पुगेका थिए । क्राउन प्रिन्स आइतबार बेलुका पाकिस्तान पुगेका हुन् ।

    इमरान खानले क्राउन प्रिन्सलाई आफ्नो कारमा बसाएर प्रधानमन्त्री निवास लिएर गएका थिए । इमरान आफैले कार चलाएका थिए । क्राउन प्रिन्सको सम्मानमा प्रधानमन्त्री निवासमा विशेष डिनरको आयोजना पनि गरिएको थियो ।

    यसक्रममा इमरान खानले साउदी अरेबियामा काम गर्ने पाकिस्तानी श्रमिकको समस्याका बारेमा चर्चा गरेका थिए ।

    अहिले २५ लाख पाकिस्तानी नागरिक साउदी अरेबियामा कार्यरत छन् । यस्तै हजको क्रममा पाकिस्तानीले भोग्नु परेका समस्याका बारेमा पनि इमरानले चर्चा गरेको जनाइएको छ ।

    क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबिएस) ले पाकिस्तानी श्रमिकका समस्या समाधान गर्ने वचन दिएका छन् । आइतबार अबेर बेलुका पुगेका एमबिएसको शानदार स्वागत भएको थियो ।

    भारतसँगको सम्बन्धमा थप दरार आइरहेका बेला पाकिस्तानको सम्बन्ध साउदी अरेबियासँग बलियो भएको देखिएको छ ।

    भारत प्रशासित जम्मू–कश्मीरको पलुवामा जिल्लामा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारत–पाकिस्तान सम्बन्धमा दरार आएको हो । यहि बिचमा पाकिस्तान र साउदी अरेबियाबिचको सम्बन्धमा थप गाढापन देखिएको हो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार