शनिबार, श्रावण ३० गते २०८३
images

भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन

  • 2.9K
    SHARES
  • फाल्गुण १२, २०७५ आइतबार

    वीरगञ्ज । सरुहठ्ठा–९ रौतहटका किसान मो उस्मानले उत्पादन गरेका गोलभेडा बिकाउन नसक्दा यसवर्ष उनी आर्थिक मारमा परेका छन । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातका कारण उनको व्यापरमा प्रत्यक्ष असर परेको हो । 

    पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेडको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूभि मानिएको सर्लाहीमा यसवर्ष गोलभेडा उत्पादन उल्लेखनीय वृद्धि भएपनि भारतबाट सस्तोमा भित्रिएको कारण लालबन्दी बजारमा गोलभेडाको व्यापारमा असर परेको किसानहरुको गुनासो छ । 

    गत वर्षको तुलनामा यस वर्ष राम्रो उत्पादन भए पनि भारतीय गोलभेडा भित्रिएपछि नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको गुनासो अर्का किसान जयदेव घिसिंगको छ । यसवर्ष शीतलहर नचलेकाले गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातले नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको हो । घिसिंगले भने “गत वर्षको तुलनामा यस वर्ष दुईगुणा बढी गोलभेडा फलेपनि सस्तोमा बेच्नुपर्ने बाध्यताले खर्च धान्नै गाह्रो परेको छ ।” 

    सर्लाही जिल्लाको नवलपुर, सासापुर, अत्रौली, लालाबन्दी, हरिओन, हुर्कौली, रानीगञ्ज, बेलवास, बबरगञ्ज, बेलालगायत ठाउँका किसानले व्यावसायिक रुपमा गोलभेडा खेती गर्दै आइरहेका छन् । त्यहाँबाट दैनिक १०० टनभन्दा बढी गोलभेडा देशका मुख्य शहर काठमाडौँ, नारायणघाट, हेटौँडा, बुटवल, पोखरा, वीरगञ्ज, गौर, सिन्धुली, रामेछाप, लहान, इटहरीसम्म जाने गरेको कृषि उपज बजार सञ्चालक समिति लालबन्दीले जनाएको छ । 

    भारतको सोनवर्षा नाकाबाट ठूलो परिमाणमा भित्रिने गरेको भारतीय गोलभेडा सस्तो भएकाले प्रतिस्पर्धा गर्न समस्या भएको छ । उत्पादन गरेका गोलभेडाले उचित मूल्य नपाउँदा यसपालि घाटा खाएर पनि बेच्नुपरेको किसानहरुको गुनासो छ । 

    काठमाडौं उपत्याकाको कालिमाटी र बल्खुको तरकारी बजारमा आफ्नो बर्चश्व राखेको सर्लाहीको गोलभेडाले यसपालि काठमाडौंमा पनि भाउ पाउन नसकेको गुनासो गर्दै किसान जोगेन्द्र महतो भने, “यसपालि गोलभेडा राम्रो उत्पादन भएकाले राम्रै मूल्य पाइएला भनेको त भारतीय गोलभेडाको निर्वाध रूपमा आयातले सोचेजस्तो मूल्य पाउन नसकिएको हो ।” 

    लालबन्दीको तरकारी बजारमा १०० भन्दा बढी थोक तथा खुद्रा व्यापारीहरु व्यापारबाट एक हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका र यसको व्यापार गर्नकै लागि रौतहट सरुहठ्ठाका २० व्यापारी लालबन्दीमा डेरा लिएर बस्दै आएका छन् । 

    गोलभेडा र परवलका लागि ख्याति कमाएको लालबन्दीको तरकारी बजारमा भने यस वर्ष भारतीय गोलभेडाले कब्जा जमाएपछि किसानहरु गोलभेडा बेचेर सोचेजस्तो आर्थिक लाभ लिन नसकेको हुन् । दैनिक रु एक करोडभन्दा बढीको तरकारीको व्यापार हुने लालबन्दी बजारमा अहिले भारतीय गोलभेडाको कारण नेपाली गोलभेडा प्रतिकिलो रु ५ देखि १० सम्ममा बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार