एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो ऐतिहासिक वार्ताका लागि भियतनाम पुगेका छन् ।
उत्तर कोरियाली नेता किम आफ्नो हरियो र पहेँलो रेलबाट भियतनामको डोङ्ग डाङ्ग रेलवे स्टेशनमा ओर्लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
किमले रेलबाट ओर्लिँदै गर्दा आफ्नो स्वागतका लागि आएकाहरुलाई अभिवादन गरेका छन् । किम रेलबाट ओर्लिएर मर्सिडिज बेन्ज कारमा चढे ।
किमले राजधानी हानोइसम्मको यात्रा कारमा गर्ने छन् । किम ओर्लिएको रेलवे स्टेसनबाट राजधानी हानोइ १०५ माइलको दूरीमा छ ।
ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच दोस्रो ऐतिहासिक वार्ता हुँदैछ । भियतनामको राजधानी हानोइमा बुधबार र बिहीबार हुने वार्ताको तयारी पूरा भएको जनाइएको छ ।
दुई नेताबिच गएको वर्षको जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो । त्यो भेटमा उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम बन्द गर्न सहमत भएको थियो ।
भियतनाममा हुने दोस्रो वार्तामा पहिलो वार्तामा भएका सम्झौता कार्यान्वयनको समीक्षा हुने तथा नयाँ रणनीतिसहितको सम्झौता हुने सम्भावना छन् ।
किमको साथमा उनकी बहिनी किम यो जोङ र उनका प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि रहेका छन् ।
किमसहितको टोली भियतनामका लागि शनिबार अबेर रेलमा प्रस्थान गरेका थिए । किम चीन हुँदै भियतनाम पुगेका हुन् ।