शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै आगामी वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन । रेलमार्ग, जलमार्गलाई, सडकमार्ग लगायतका विकास पुर्वाधारलाई प्राथमितामा राखिने पनि उनले बताएका छन ।
विकास निमार्णका आयोजनाहरुका लागि आवश्यक सामाग्री खरिद गर्दा आयात बढेको देखिएको भएपनि निर्यात क्षेत्र समेत सुधारउन्मुख रहेको उनको दाबी छ । विकासका लागि अनुकुल वातावरण समेत बन्दै गएको भन्दै उनले २०३० सम्म मध्यम आय भएको देश बन्ने गरि बजेट विनियोजन गरिने बताएका छन् । ‘आन्तरिक तथा बाहृय लगानीको अवसरका लागि वातावरण बनेको छ । २०३० भित्र मध्यम आय भएको देशमा पुग्ने हाम्रो लक्ष्य अनुसार बजेट विनियोजन गरिनेछ,’ उनले भने ।
विद्युत उत्पादनमा जोड दिने, एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने गरी कार्यक्रममा बजेट छुट्याउने खतिवडाले उल्लेख गरेका छन । ‘समृद्ध नेपाल सुखी नेपालीको आधारशिला निमार्ण भएको छ । आगामी वर्ष समाजिक न्यायसहितको विकासको अधार वर्षका रुपमा रहने गरी बजेट विनियोजन गरिनेछ,’ खतिवाडाले भने । आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने गरी बजेट ल्याउने, क्षमता अनुसारको काम दिने र मौलिक हक कार्यानवयनमा केन्द्रित हुने पनि उनले बताएका छन ।
आज उनको यो विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई भने पुर्व प्रधानमन्त्री तथा पुर्व अर्थमन्त्रि समेत रहेका डा. बाबुराम भट्टराईले ट्वीट गर्दै कडा व्यंग्य गरेका छन् । भट्टराईले 'अर्थमन्त्री द्वारा संसदमा आज (२७ गते)प्रस्तुत आगामी बजेटका “सिद्धान्त र प्राथमिकता” हेर्दा अर्धनिद्रामा रहेको मान्छेले हाइ काड्दै लेखेको नीरस निबन्ध जस्तो लाग्यो! त्यहाँ न सिद्धान्तको प्रष्टता छ न त प्राथमिकताको किटान! हनुमानले विन्ध्याचल पर्वत त ल्याए तर संजीवनी चिनेनन् भने जस्तै!' भनेका छन्।