काठमाडौं । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् ।
आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले अनिश्चितकालका लागि कामकाज बन्द गराएका हुन् ।
मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भइरहेका छन् । आयोजनाले पटकपटक सम्झौता गर्ने तर पीडितको मागको सम्बोधन नगरेका कारण प्रितिरोधमा उत्रनु परेको सङ्घर्ष समितिका संयोजक सुजन पोख्रेलले बताए । “हामीलाई धेरै झुक्याउने काम भएको छ”, उनले भने, “माग पूरा नभएसम्म निर्माण कार्य सञ्चालन हुन सक्दैन ।”
आयोजनाको सुरुङ निर्माणका क्रममा भएको बम विष्फोटका कारण घर भत्केको स्थानीयवासीले बताएका छन । विष्फोटनका कारण स्थानीय रामकुमारी पोख्रेल, मेघराज ढुङ्गाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मीनकुमारी खत्री, माया खत्री, सावित्री पोख्रेल, रामबहादुर खत्रीको घरमा क्षति पुगेको उनीहरूको भनाइ थियो । आयोजनाका कारण ४९ घरमा असर परेको र एक घर पूर्णरुपमा भत्किसकेकाले आयोजनाले नयाँ र सुरक्षित घर बनाइदिनुपर्ने अडानमा स्थानीयवासी छन् ।
आयोजनाले भने भूकम्प र परकम्पका कारण कमजोर घर अहिले क्षति भएका कारण मागअनुसार क्षतिपूर्ति दिन नसक्ने जिकिर गर्दै आएको छ ।