काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएर नर्भिक अस्पताल भर्ना गरिएको छ । पारसको अवस्था गम्भीर रहेको थाहा पाएपछि पुर्वरानी कोमल शाह काठमाडौँ फर्केकी छिन् । भ्रमणको सिलसिलामा सिमरामा रहेकी पूर्वरानी कोमल जहाजको टिकट नपाएपछि सोमबार नै रात्रिगाडीमा काठमाडौं फर्केकी हुन् ।
कोमलका सहयोगी सुदन थापाले जहाजको टिकट नपाएपछि हतारमा गाडीबाटै काठमाडौँ फर्काउने निर्णय भएको हो ।
अचानक छाती दुखेपछि पूर्वयुवराज पारसलाई सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई हाल कोरोनरी केयर युनिट (सीसीयू)मा राखेर उपचार भइरहेको र अवस्था खतरामुक्त नरहेको अस्पतालले जनाएको छ ।
सोमबार अपरान्ह ४ः१५ बजेतिर नर्भिकको आकस्मिक कक्षमा पारसलाई भर्ना गरिएको थियो । उनको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएपछि सो अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य गरिएको अस्पतालले जनाएको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन हस्पिटलमै राखिनेछ ।
सिमरामै रहेका पारसका बुवा तथा पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारै खबर पाए पनि आज हवाईजहाजबाटै काठमाडौँ फर्किने तयारी रहेको बताइएको छ । पारसकी श्रीमती हिमानी शाह र छोराछोरीहरु थाइल्यान्डमा रहेको बताइएको छ ।