बैशाख ११, काठमाडौं - कतारका राजा अमिर शेख बिन हमाद अल थानी दुईदिनको राजकीय भ्रमणका लागि आज नेपाल आउदै हुनुहुन्छ। भ्रमणका लागि वहाँ अपरान्ह काठमाडौं आइपुग्नुहुने जनाईएको छ।
कतारी राजाको स्वागतको लागि राष्ट्रपति रामचन्द्र पौडेल आफै विमानस्थल जानुहुनेछ। परराष्ट्र मन्त्रालयले जनाए अनुसार कतारी राजा अमिर थानीले आजै शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटबार्ता गर्ने कार्यक्रम रहेको छ र राजा अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्नुनुहुनेछ।
भोलि बुधबार कतारी राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय बार्ता गरि समझदारीपत्र र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुने जनाईएको छ।
नेपाल र कतारको कुटनैतिक सम्बन्ध स्थापना भएको ४७ बर्ष पछि कतारबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
नेपालबाट भने तत्कालीन राजा ज्ञानेन्द्रविरविक्रम शाह, राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवि भण्डारीले कतारको राजकीय भ्रमण गरिसक्नु भएको छ।
कतारी राजा थानीसँग इजरायलमा प्रशिक्षार्थी कामदारकारुपमा गएर हमासले आक्रमण गरि अपहरणमा परेका विपिन जोशीको रिहाइका लागी पहल गरिदिन अनुरोध पनि गर्ने जनाइएको छ।
विपिनका परिवारले केही दिन अघि मात्र राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहाललाई भेट गरि रिहाईका लागी आग्रह गरिदिन अनुरोध गरेका थिए। कतारी राजा थानीले इजरायल - हमास द्वन्द्व अन्त्यका लागि बार्ता र पहल गरिरहेका छन।
कतारी राजाको राजकीय भ्रमणका क्रममा काठमाडौं चिटिक्क सिंगारिएको छ। भ्रमणमा कुनै कमि हुन नदिन सरकार लागिपरेको छ। सुरक्षा व्यवस्था कडा परिएको छ भने नेपाली सेना समेत परिचालन गरिएको छ।
कतारी राजा थानीको स्वागतका लागि सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। जस्ले सवारी व्यवस्थापन गर्न सहज पनि हुने अपेक्षा गरिएको छ।