आइतबार, श्रावण ३१ गते २०८३
images

एक वर्षमै साढे ३४ अर्बको सुन आयात

  • 4.6K
    SHARES
  • श्रावण २९, २०७६ बुधबार

     मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै साढे ३४ अर्बको आयात भएको छ।  उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ।  अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न सरकारले तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन्।

    भन्सार विभागका अनुसार आव ०७५र७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ।  विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर परिरहेकाले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण गर्न सकिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताए।  ‘सुनको भन्सार महसुल बढाउँदा आयात नियन्त्रण हुन्छ,’ खनालले नागरिकसँग भने, ‘विलासी वस्तु भएकाले कर बढाएर राजस्व वृद्धि र आयात घटाउन सकिन्छ। ’ सुन आयात गर्दा डलर तिर्नुपर्ने भएकाले यसको असर मुलुकको भुक्तानी सन्तुलनमा पनि परेको छ।

    विभागको तथ्यांकअनुसार गत वर्ष व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।  यो मुलुकको कुल बजेटभन्दा पनि धेरै हो।  गत आर्थिक वर्ष मुलुकको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ थियो।  आव ०७४र७५ मा ३१ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ र आव ०७३र७४मा २३ अर्ब २३ करोड १६ लाख रुपैयाँको सुन आयात भएको भन्सार विभागले जनाएको छ।  नेपालमा सुनको आयात बर्सेनि बढ्दै गएको छ।

    गत वर्ष सुन आयात बढेको भए पनि केही महिनादेखि सुनको भाउ निरन्तर बढेपछि कारोबार भने ठप्पजस्तै भएको छ।  बजारमा सुन बिक्री नभएपछि वाणिज्य बैंकमा करिब साढे चार अर्ब रुपैयाँको सुन थन्किएको छ।  दैनिक २० किलो सुन बिक्री गर्दै आएका बैंकबाट असार यता दैनिक एक किलो सुन पनि बिक्री भएको छैन।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार अहिले बैंकमा ६ सय ४३ किलो सुन स्टक छ।  जेठ १५ गते बजेट भाषणमा भन्सार दर बढाएपछि घटेको सुन कारोबार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर भाउ बढेपछि ठप्प भएको हो।

    असारदेखि सुन बिक्री नभएको एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले बताए।  ‘बजेट भाषणपछि सुनको बिक्री घटेको भए पनि असारदेखि बिक्री नै ठप्प छ,’ उनले भने, ‘अहिले व्यापारीले बैंकबाट सुन किनेका छैनन्। ’ शर्माका अनुसार असार महिनाभरि जम्मा २६ किलो सुन बैंकबाट बिक्री भएको थियो।  विवाहको सिजन मानिने असारमा सुन बिक्री नहुनु आश्चर्यजनक भएको शर्माले बताए।  ‘विगतमा प्रतिमहिना साढे ६ सय किलो सुन बिक्री हुन्थ्यो,’ शर्माले भने, ‘असारमा विवाहको लगनमा पनि २६ किलोमात्र बिक्री भयो। ’

    अहिले बैंकमा स्टक रहेको सुनको मंगलबारको बजार मूल्यअनुसार तीन अर्ब ९३ करोड ६१ लाख रुपैयाँ पर्छ।  मंगलबार एक तोला सुनको बिक्री मूल्य ७१ हजार रुपैयाँ छ।  एक तोलामा ११।६६ ग्राम हुन्छ।  एक ग्राम सुनको मूल्य ६ हजार एक सय २० रुपैयाँ ६८ पैसा पर्छ।आजको नागरिक दैनिकमा समाचार छ। 

    बैंकर्स एसोसिएसनका अनुसार सानिमा बैंकमा सबैभन्दा धेरै एक सय किलो सुन स्टक छ।  लक्ष्मी बैंकसँग ५० किलो, नबिलसँग ८५, प्राइममा ८९ किलो, बिओकेमा ६४, सिटिजनमा ९२, इन्भेस्टमेन्टमा ५०, माछापुच्छ्रेमा ५०, जनतामा ४८, सिद्धार्थमा ४९ र एनएमबीसँग ४३ किलो सुन मौज्दात छ।

    सुन विक्रेता भने बैंकरको भनाइमा सहमत छैनन्।  सुन किन्ने ग्राहक नआएकाले व्यवसायीले बैंकबाट सुन नकिनेका हुन्।  नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘व्यवसायीसँग भएको सुन नबिकेपछि बैंकबाट नकिनेका हुन्।  बजारमा सुनको कारोबार भएको छैन। ’ बजेटमा करको दर बढेपछि सुन कारोबार घटेको उनले बताए।  सरकारले प्रति १० ग्राम ४२ सय रुपैयाँ भन्सार शुल्क लिँदै आएकोमा गत जेठ १५ मा बजेट भाषणमा बढाएर प्रति १० ग्रामको पाँच हजार निर्धारण गरिएको थियो।

    सुनको मूल्य अझै बढ्न सक्ने शाक्यले बताए।  अमेरिकी बजारमा सुनको भाउ निरन्तर बढेकाले त्यसको असर यहाँको बजारमा परेको हो।  शाक्यले भने, ‘यही अवस्था रहने हो भने व्यापारीले खरिद गर्न सक्ने अवस्था रहन्न। ’ व्यवसायीले उपभोक्ताले ल्याएको सुन खरिद गर्न छाडेको बताए।  यस्तो अवस्थामा वाणिज्य बैंकहरुले व्यवसायीसँग सुन खरिद गरेर सघाउनुपर्ने उनको भनाइ छ।  यस विषयमा व्यवसायीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको ७१ हजार रुपैयाँ अहिलेसम्मकै उच्च हो।  तीज नजिकिँदै जाँदा सुनको खपत बढ्ने भए पनि भाउ निरन्तर उकालो लागेपछि यो वर्षको तीजमा सुनको कारोबार कम हुने भएको छ।  सुनको भाउ बढेपछि सुन पसल सुनसान छन्।  अमेरिका र इरानबीचको बढ्दो तनाव तथा अमेरिका–चीन व्यवपार युद्धको असरले सुनको भाउ बढेको व्यवसायी बताउँछन्।  चीन र अमेरिकाको व्यापार युद्ध र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन्।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार