सुनको भाउमा अचाक्ली वृद्धि भएछि नेपाली बजारमा सुन कारोबार ठप्पजस्तै भएको छ । बजारमा सुनको माग नभएपछि आयात गरेको ६ सय ४२ किलो सुन बैंकमै थुप्रिएको छ । ‘बैंकले लिन आऊ भन्छ । तर, बजारमा माग छैन,’ नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
शुक्रबार र शनिबार सुन प्रतितोला ७१ हजार पाँच सयमा खरिद–बिक्री भयो । दुई सातायता मात्र प्रतितोला साढे ६ हजारले बढेको छ भने दुई महिनायता प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ । सुनको भाउ अकासिँदै गर्दा चाडपर्वमा नेपाली उपभोक्ता सुनतर्फ आकर्षित भई खरिदबिक्रीमा उत्साहित देखिने विगतको चलनमा यसपालि भने ब्रेक लागेको देखिन्छ । सुनपसल सुनसान देखिएका छन् । कुनै–कुनै पसलमा दिनभरमा एकजना ग्राहक पनि गएको देखिँदैन । बरु उल्टै गहना बिक्री गर्ने ग्राहक भेटिन्छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजार पनि प्रभावित बनेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका इरान तनाव र भारतको कस्मिर विवादले सुनको भाउ अन्तर्राष्ट्रियस्तरमै अकासिएको हो । शनिबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार पाँच सय १५ अमेरिकी डलर पुग्यो । दुई साताअघि एक हजार चार सय ५० डलर थियो । एक महिनायता मात्र प्रतिऔँस ८६ डलर बढिसकेको छ । ६ महिनाको तुलना गर्ने हो भने प्रतिऔँस एक सय ९५ डलरले बढेको छ ।
सुनको सबैभन्दा उच्च मूल्य सन् २०१० र २०११ को बीचमा भएको थियो । त्यसवेला प्रतिऔँस एक सय नौ डलरसम्म पुगेको थियो । त्यो नेपाली बजारमा ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो । तर, त्यसवेला अहिलेभन्दा नेपाली रुपैयाँ डलरसँग मजबुत भएकाले सुनको मूल्य ६३ हजार तीन सयमै समेटिएको थियो ।
यस्तै परिस्थिति रहे आगामी साता पनि मूल्य बढ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको अध्यक्ष मोहनकुमार विक बताउँछन् । ‘तर, के हुन्छ ठ्याक्कै अनुमान गर्न कठिन छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा प्रभाव पर्छ । अहिलेको परिस्थितलाई हेर्दा आगामी दिन पनि बढ्ने अनुमान गर्न सकिन्छ ।’
भारत र कस्मिरबीच भएको तनावका कारण एसियाली बजारमा सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको भनाइ छ । ‘अहिले भारतीय रुपैयाँ कमजोर भएको छ,’ उनले भने, ‘यसका कारण नेपाली रुपैयाँ पनि कमजोर भएको छ । त्यसैले सुनको मूल्य बढेको हो ।’
६ वर्षअघि ०७० ताका सुनको भाउ आकासिँदै प्रतितोला ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । त्यसवेला सुन विश्लेषकले अझ बढेर ७० हजार नाघ्ने अनुमान गरेका थिए । तर, त्यसविपरीत भाउ घट्दै ४७ हजार ८ सयमा आयो । ‘त्यसवेला ग्राहक मात्रै होइन व्यवसायीसमेत मारमा परेका थिए,’ उनले भने, ‘त्यसैले सुनमा संयमित भएर लगानी गर्नुपर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘कारोबार शून्य बराबर’
सुनको मूल्य चुलिएपछि कारोबार शून्य बराबर देखिएको सुन चाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । ‘अहिले बजारमा पुरानो गहना बिक्री गर्न आउने मात्रै छन् । खरिद गर्ने शून्य छन्,’ उनले भने, ‘यस्तै अवस्था केही दिन रहे पसल बन्द गरेर बस्नुपर्ने हुन्छ,’ उनले भने । उनका अनुसार चाडपर्व नजिकिएकाले एकदमै आवश्यक पर्नेले मात्रै न्यून मात्रामा सुन खरिद गरेका छन् । अन्यथा बढेको मूल्यमा पुराना सुन बिक्री गर्न आउने ग्राहक बढेको उनले जानकारी दिए ।
अमेरिका–चीन–इरान व्यापार युद्ध
अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय पुँजीबजारमै लगानीकर्ता निरुत्साहित भएका छन् । अमेरिकाले चीनबाट हुने तीन सय अर्ब डलरको आयातमा १० प्रतिशत कर लगाएको छ । यसले सेयरको भाउमा ठूलो गिरावाट ल्याएको छ । सेयरबजारमा चलखेल हुने पैसा बैंकमै थुप्रिएको छ । बैंकमा पैसा थुप्रिएपछि केन्द्रीय बैंकले ब्याजदरमा ठूलो कटौती गरेका छन् । फेडरल रिजर्भ बैंकले गत महिनादेखि शून्य दशमलव २५ प्रतिशत ब्याजदर घटाएको छ । बैंकले ब्याज घटाएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् ।
भारतको कस्मिर विवाद
भारतको कस्मिर विवादले पनि भारतीय रुपैयाँ डलरसँग कमजोर बनेको छ । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर रहेकाले पनि त्यसको असर यहाँ परेको हो ।
नेपाली मुद्राको अवमूल्यन
भारतीय मुद्राको अवमूल्यनसँगै नेपाली रुपैयाँ पनि कमजोर बनेको छ । एक महिनाअघिको तुलनामा नेपाली मुद्रा प्रतिडलर चार रुपैयाँले कमजोर भइसकेको छ । असार अन्तिम साता प्रतिडलर एक सय १० रुपैयाँ नेपाली मुद्रा रहेकामा अहिले एक सय १४ रुपैयाँ नाघिसकेको छ । यसले पनि सुनको भाउ बढाउन मद्दत पुगेको हो ।
वर्षमा साढे ३४ अर्बको सुन आयात
बढ्दो सुनको मूल्यले बजारमा यसको आयातलाई भने कुनै असर गरेको दैखिँदैन । भाउ अकासिँदै गर्दा आयातमा शिथिलता आउनुपर्नेमा अझ बढेको देखिन्छ । भन्सार विभागका अनुसार गत आवमा ३४ अर्ब ६१ करोड रुपैयाँबराबरको सात हजार चार सय ९३ केजी सुन आयात भएको थियो । अघिल्लो आव ०७४र७५ मा भने ३१ अर्ब ९७ करोड रुपैयाँबराबरको सात हजार दुई सय ३२ केजी सुन आयात भएको थियो । गत वर्ष आयातको तुलनामा साढे तीन प्रतिशत बढीले सुन आयात भएको हो । रुपैयाँमा तुलना गर्ने हो भने आव ०७४र७५ को तुलनामा ०७५र७६ मा आठ प्रतिशतले बढी आयात भयो ।
आव ०७३र७४ मा २३ अर्ब २३ करोड रुपैयाँबराबरको पाँच हजार चार सय ५० केजी सुन आयात भएको थियो । आव ०७२र७३ मा १६ अर्ब सात करोड रुपैयाँबराबरको ४ हजार १ सय ६५ केजी भित्रिएको थियो ।