मंगलबार, भाद्र २ गते २०८३
images

मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजी तर्फ अग्रसर : प्रधानमन्त्री ओली

  • 3.4K
    SHARES
  • माघ १७, २०७५ बिहीबार

     काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन । 
    नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताएका हुन । उनले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनिसकेको र अरु पनि बन्ने जानकारी दिएका छन । 
    उनले भने, “नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको छ । हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढिरहेका छौँ । हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौँ ।” 
    नेपाल टेलिभिजन स्थापना हुँदा आफू पञ्चायतविरोधी आन्दोलनका क्रममा पोखरा कारागारमा रहेको स्मरण गर्दै उहाँले टेलिभिजनको शुरुआतसँगै नेपालमा परिवर्तन र जागरणको युग आरम्भ भएको उल्लेख गरे । 
    सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्य टेलिभिजनभन्दा नेपाल टेलिभिजनमा केही फरक दायित्व भएको उल्लेख गर्दै यो सरकारी संस्था नभई राष्ट्रको टेलिभिजन, जनताको टेलिभिजन हो भने । उनले भने, “नेपाल टेलिभिजनमा कुनै सरकारी हस्तक्षेप छैन । सरकारकै विरोधमा सामग्री प्रसारण हुँदा पनि सरकारले केही भनेको छैन । यो संस्था बनाउने कार्यरत कर्मचारी र पत्रकारको हो । सरकारले सँधै सहयोग गर्दै आएको छ ।” 
    “नेपाल टेलिभिजनलाई नयाँ प्रविधिमा लान गाह्रो मानेर र त्यसमा निहुँ खोजेर कसको सेवा गर्दैछौँ ? यस टेलिभिजनले अरुसँग प्रतिस्पर्धा गरोस् भन्ने, खेतमा कुटो कोदालो र पानी नदिने अनि मङ्सिरमा धान खोज्ने कसरी सम्भव हुन्छ ?” मन्त्री बाँस्कोटाले आग्रह गरेका छन , “ चारतारे लालतारे बनेर होइन टेलिभिजनको कर्मचारी भएर प्रस्तुत भएर वा मन्त्रीतिर हेरेर होइन प्रतिस्पर्धीलाई हेरेर काम गर्नुस् ।” 
    मन्त्री बाँस्कोटाले अबको छ महीनापछि सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा जानुपर्ने आग्रह गरेका छन । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पिएसबीमा लान कानूनी प्रबन्ध हुन बाँकी छ । 
     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार