प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पछिल्ला हरेक बैठक निर्णयबिनै टुंगिँदै आएका छन् । सभापति शेरबहादुर देउवा बैठक बोलाउने तर उनी इतरका समूह बैठकमा सहभागी नहुँदा केही समययताका कांग्रेस बैठक निर्णयबिनै टुंगिँदै आएका हुन् ।मिति तोकेरै बोलाइएका हरेकजसो बैठक बस्ने वा नबस्ने टुंगो नहुँदा केन्द्रीय तहको जिम्मेवारीमा रहेका पदाधिकारीसहित सदस्यले समेत हैरानी बेहोर्दै आएका छन् ।
यस्तै, कतिपय बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै वा थप छलफल गर्नुपर्ने कारण देखाउँदै स्थगित गरिँदै आइएको छ ।एक केन्द्रीय नेताका अनुसार सोमबार बोलाइएको बैठकमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केही पदाधिकारी गएनन् । गएका केन्द्रीय सदस्यसमेत बैठक बस्ने– नबस्ने अन्योलका कारण फर्किए ।
कांग्रेसको गत साउनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानले व्यवस्था गरेअनुसार अन्तरिम संरचनाको समायोजनको काम सहमतिबाट मंसिरभित्रै टुंग्याउन सहमति गरेको थियो । सो बैठकमा अन्तरिम व्यवस्थाअनुसारको संरचना गठन गरेर महाधिवेशनमा जाने कांग्रेसले शीर्ष सहमतिबाट निर्णय लिएको थियो । कांग्रेसको त्यसयताका हरेकजसो बैठक बिनानिर्णय टुंगिँदै आएका छन् ।
पछिल्लो समय सभापति देउवाले विधानविपरीत पार्टीका रिक्त विभाग गठन गर्ने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट छ । देउवाले विधानमा व्यवस्था भएको २८ वटा विभागलाई बढाएर ४१ वटाको प्रस्ताव गरेका छन् ।आजको राजधानी दैनिकमा समाचार छ।