काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी एकता गर्न गठित कार्यदललाई एकदिने समयसीमा दिएर प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। बैठकले मंगलबारभित्र कार्यदलले हालसम्म गरेको कार्यको प्रतिवेदन बुझाउन अल्टिमेटम दिएको हो। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले , ‘सांगठनिक एकीकरण गरी गृहकार्यसहित सुझाव पेश गर्न तत्काल भोलि नै अहिलेसम्मको कार्यपत्रको विवरण पेश गर्न बैठकले कार्यदललाइ निर्देशन गरेको छ।’
त्यसबारे छलफल गरेर आवश्यक निर्णय लिइनेछ। स्थायी समितिको बैठक पनि बस्नेछ।’ सचिवालयको निर्देशन अनुसार स्थायी समितिको बैठकमा प्रतिवेदन प्रस्तुत हुने छ।
यस्तै बैठकले भेनेजुयलामा विकसित राजनीतिक घटनाक्रममा बाह्य हस्तक्षेप हुन नहुने मान्यता फेरि दोहोर्याएको छ। बालुवाटारमा सोमबार बसेको बैठकले भेनेजुयलामा उत्पन्न राजनीतिक घटनाक्रमको समस्याको समाधान त्यहीँका जनताले शान्तिपूर्ण रुपमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ।
राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहेको र हरेक देशको सार्वभौमसत्ता स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने नेकपाको निष्कर्ष हो। बैठकपछि प्रवक्ता श्रेष्ठले भेनेजुयलामा विकसित राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै कुनै पनि मुलुकको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने सिद्धान्तमा पार्टी अडिग रहेको स्पष्ट पारेका छन्।
बैठकको निष्कर्ष सुनाउँदै उनले भने, ‘कुनै पनि देशमा कुनै समस्या उत्पन्न भएमा त्यहाका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता पार्टीले राख्दछ।’
भेनेजुयलामा विकसित राजनीतिक घटनाक्रमलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहाले विज्ञप्ति जारी गर्दै भेनेजुयलामा अमेरिकी हस्ताक्षप भएको टिप्पणी गरेका थिए।
अमेरिकाले प्रचण्डको टिप्पणी आधिकारिक भए नभएको स्पष्ट पार्न सरकारसँग माग गरेको थियो।
परराष्ट्र मन्त्रालयले कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशका जनताले प्रजातान्त्रिक पद्धतिमा बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने सरकारको धारणा रहेको बताएको थियो। लगत्तै सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर ब्रिफिङ गर्दा अमेरिकी राजदूत भने त्यहाँ उपस्थित भएनन्।