नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोको ठेक्का पाएको इटालियन ठेकेदार कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) संग स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा मुद्दा हारेको छ । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैंकले नेपाल इन्भेष्टमेन्टलाई काउन्टर ग्यारेन्टीबापतको भुक्तानी गर्न नपर्ने फैसला गरेको छ ।
इन्भेष्टमेन्ट बैंकलाई सीएमसीले मुद्धा जितेपछि काउन्टर ग्यारेन्टीबापत नेपालमा तनहुँ हाइड्रोलाई दिएको करिब २ अर्ब रुपैयाँ असुल गर्न कठिन हुने देखिएको छ । अब इन्भेष्टमेन्ट बैंक माथिल्लो अदालतमा जानुपर्ने छ । इन्भेष्टमेन्ट बैंकले फैसलाविरुद्ध इटालीका माथिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने छ । नियमअनुसार इन्भेष्टमेन्ट बैंकले जफत भएको रकम काउन्टर जमानी दिएको इटालियन इन्टेसा सानपओलो बैंकबाट पाउनुपर्ने थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले करिब २ अर्ब रुपैयाँको भुक्तानीसम्वन्धि मुद्धा इटालीको अदालतमा हारेको छ । इटालियन ठेकेदार कम्पनी सिएमसी मेलम्चीबाट भागेपछि तनहुँ जलविद्युत आयोजनाले ठेक्का तोडेको थियो । तनहुँले ८५ करोड नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो गरी करिब १ अर्ब ९७ करोड बराबरको ग्यारेन्टी रकमबापतको भुक्तानी इन्भेष्टमेन्ट बैंकबाट जफत गरेको थियो ।
त्यसपछि आफ्नो जफत भएको जमानतबापत बैंकलाई रकम भुक्तानी गर्न नसकिने भन्दै सिएमसी अदालत गएको थियो ।उसले नेपालमा काम गर्ने वातावरण नभएको, आफुलाई काम गर्ने वातावरण नबनाइएको र आयोजनाले नै आफूमाथि छलकपट गरेकाले आयोजना छाड्नुपर्ने अवस्था आएको हो उसले भनेको छ । ठेक्का समझौता गरेर जमानत ल्याइसकेको सीएमसी टाट पल्टिएपछि नेपालबाट बाहिरिएको थियो ।