सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट कारखानामा व्यापक अनियमितता भएको पाइएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले कारखानामा कर्मचारी भर्ना तथा खरिद प्रक्रियामा अनियमितता भएको औंल्याएको हो । हेटौंडा सिमेन्ट उद्योग प्रालिका महाप्रबन्धक प्रेमशंकर सिंहले गैरकानुनी कार्य गरेको केन्द्रले जनाएको छ । हेटौंडा सिमेन्ट कारखानाले बर्नर चिफ तथा बर्नर पदमा शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई उद्योगको कर्मचारी सेवा सर्त नियमावलीको नियम ३।५।१ तथा नियम २।४।४ ग विपरीत भर्ना गरेको पाइएको हो । सतर्कता केन्द्रका अनुसार उद्योगको कर्मचारी सेवा नियमावलीअनुसार योग्यता नै नभएका व्यक्तिलाई नियुक्ति गरी अनियमितता गरिएको छ ।
कर्मचारी नियुक्ति गर्दा शैक्षिक योग्यता स्नातकोत्तर र सम्बन्धित क्षेत्रमा केही वर्ष काम गरेको अनुभव पेस गरेका आवेदक छनोटमा नपरी योग्यता नै नपुगेकाहरू छनोटमा परेको सतर्कता केन्द्रको ठहर छ । उद्योगले पहिलोपटक बर्नर पदमा चार जना करारमा पदपूर्ति गर्न सूचना प्रकाशित गरेर लामो समयसम्म छनोट प्रक्रियामा लगाए पनि सोबमोजिम कसैलाई पनि नियुक्ति नदिएको र त्यसपछि दुई पदका लागि मात्र सूचना प्रकाशित गरी मिलेमतोमा उद्योगकै पूर्वकर्मचारीलाई नियुक्ति दिई अनियमितता गरेको पाइएको हो । यसैगरी, बर्नर पदभन्दा चिफ बर्नर पदमा कम शैक्षिक योग्यता तोकिएर चिफ बर्नरमा बिनाऔचित्य शैक्षिक योग्यताको दायरा सानो बनाई मेकानिकल इन्जिनियर मात्रै राखेर प्रतिस्पर्धा सीमित गरी अनियमितता गरेको पाइएको हो ।आजको राजधानी दैनिकमा समाचार छ।