बुधबार, भाद्र ३ गते २०८३
images

सिमेन्ट बजारमा नयाँ उद्योगको प्रवेश, भोलिदेखि हुवासिनको परीक्षण उत्पादन


  • 3.5K
    SHARES
  • पौष २३, २०७८ शुक्रबार

    धादिङमा स्थापित हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको छ । व्यावसायिक उत्पादनका लागि थप दुई महिना लाग्ने उनले बताए ।

     

    डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही दिन ढिला भएको हो । नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो । आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिंकर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ ।

    उद्योगका अनुसार प्लान्टलाई प्रविधिमैत्री बनाइएको छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सिसिआर)बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्न सकिन्छ । अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल (भिआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने बताइएको छ । भिआरएम अत्याधुनिक प्रविधि हो । यो हुवासिनको आफ्नै उत्पादन हो ।

    अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज प्रुफ र ओस नलाग्ने उद्योगले जनाएको छ । वेस्ट हिट रिकभरीबाट करिब पाँच मेगावाट विद्युत् उत्पादन हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए । उनका अनुसार गत कात्तिकमा नै स्विचिङ स्टेसन सञ्चालनमा ल्याइएको थियो ।

    धादिङको सिद्धलेक गाउँपालिका-६ मा निर्माण भएको स्विचिङ स्टेसनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि गत मङ्सिरको दोस्रो सातादेखि उद्योगमा नियमितरुपमा बिजुली उपलब्ध भएको छ । प्रसारण लाइन निर्माण उद्योग आफैँले एक अर्ब लगानीमा गरेको हो ।

    कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब रु १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार