काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलाबारे पार्टी र सरकारको विज्ञप्तिमार्फत नै आधिकारीक धारणा आइसकेकाले अब कसले के भन्यो भन्ने कुराले केही अर्थ नराख्ने बताएका छन्। बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भेनेजुयला स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्र भएकाले त्यहाँको राजनीतिक विवादमा बाह्य देशले हस्तक्षेप गर्न नहुने पक्षमा नेपाल सरकार र नेकपा रहेको बताएका छन।
प्रधानमन्त्री एवं नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेनेजुयलाका विषयमा जनतासँग प्रधानमन्त्री कार्यक्रममा र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँगको भेटमा भेनेजुयलाबारे अध्यक्ष प्रचण्डको बोली चिप्लिएको भनेको कुरा विभिन्न संचारमाध्यममा आएको कुरा सत्य नभएको र त्यसबारे आफूलाई आधिकारीक धारणा थाहा नभएको बताएका छन।
प्रधानमन्त्रीजीले कुन सन्दर्भमा के भन्नुभयो मैले मिडिया हेरेको छैन, प्रचण्डले आफूले जारी गरेको वक्तव्यबारे भने, त्यो वक्तव्य राजनीतिक थियो। स्वतन्त्र, सार्वभौम सत्तासम्पन्न राष्ट्रको राजनीतक घटनाक्रममा कुनै बाह्य हस्तक्षेप नहोस् भन्ने उद्देश्यका साथ दिइएको थियो।
पछि परराष्ट्र मन्त्रालयको पनि जो स्टेटमेन्ट थियो त्यहीँ (आफूले जारी गरेको वक्तव्यको) स्पिरिटमा आयो। प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा र अमेरिकी राजदूतसँग के कुरा गरे भन्ने विषयले अर्थ नराख्ने प्रचण्डको भनाइ थियो। उनले भने, प्रधानमन्त्रीज्यू समेत सहभागी सचिवालयको बैठकले हस्तक्षेपको विरोधमा नै वक्तव्य जारी भएको हुनाले अरू कुराले अर्थ राख्दैन।
प्रचण्डले आफूले वक्तव्य जारी गरेपछि पनि नेपाली मिडियामा विभिन्न समाचार आएकाले आफ्नो कुरामा अडिग रहेको भन्ने वक्तव्य जारी गर्नुपरेको सम्झाएका थिए। उनले भने मलाई फसाइयो भन्यो भन्ने समाचारमा आएपछि त्यो होइन भन्ने स्पष्टिकरण दिएको थिएँ। सचिवालयको बैठकले समेत त्यहिँ स्पिरिटमा जारी गरिसकेपछि अब व्यक्तिले कसले के भन्छ त्यसले केही अर्थ राख्दैन।