काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन ।
आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरण लगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको छ भने ।
अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको बताएका छन। राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचार अहिले झन बढेको दाबी गरेका छन।
मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले सङ्घ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गरेका छन ।
भेनेजुएलाको विषयमा धारणा राख्दै नेता केसीले पूर्व एमालेका केही नेताहरु र सरकारमा रहेकाहरु अमेरिकाको डरमा वास्तविक कुरा बोल्न डराइरहेको बताएका छन ।
‘अमेरिकाको तानाशाही प्रवृत्तिको विरोध गर्नुपर्ने ठाउँमा लोलोपोतो गरिरहेका छन्, उनले भने–पूर्वमाओवादीहरु प्रष्ट देखिए, उनीहरु सही बाटोमा छन् ।’
उनले भेनेजुएलाको विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको धारणाप्रति समर्थन गरेका छन । ‘वास्तविक कुरा नै त्यही हो, उनी भन्छन्–भएको कुरा बोल्न किन डराउने ?’