मंगलबार, भाद्र २ गते २०८३
images

विश्वमा गम्भीर अनिकालको जोखिम बढ्दै : संयुक्त राष्ट्रसंघ

  • 2.6K
    SHARES
  • बैशाख १०, २०७७ बुधबार

    काठमाडौं । विश्वमा बिस्तारित तहको गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

    कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर भोकमरीको उच्च जोखिम देखिएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो ।

    विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का प्रमुख डेविड बिज्लेईले भोकमरीका कारण उत्पन्न हुने गम्भीर दुर्घटना वा विनाशबाट जोगिनका लागि तत्काल उपयुक्त प्रयासको खाँचो रहेको बताएका छन्।

    विश्वभर भोकमरीका कारण समस्यामा पर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड भन्दा बढी पुग्ने आँकलन गरिएको छ ।

    डब्लुएफपीका अनुसार भोकमरीका कारण सबैभन्दा बढी प्रभावित हुने १० देश छन्, जुन देशमा द्वन्द्व, आर्थिक संकट र जलवायु परिवर्तनको प्रभाव अधिक परेको छ ।

    ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको छ ।

    कोरोना भाइरसको महामारी पूर्व पनि पूर्वी अफ्रिका र दक्षिण एसियाका देशहरुले खाद्यान्न अभावको गम्भीर संकट भोगेका थिए । यी क्षेत्रमा खडेरी तथा केही दशक यताकै सबैभन्दा ठूलो सलह महामारीका कारण खाद्यान्नको संकट उत्पन्न भएको हो ।

    संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भिडियो कन्फ्रेन्स मार्फत भएको बैठकमा सम्बोधन गर्दै डब्लुएफपीका प्रमुख डेविडले सम्भावित गम्भीर अनिकाल विरुद्ध विश्वले अति तीव्र तर बुद्धिमतापूर्ण ढंगले काम गर्नु पर्ने बताएका छन ।

    केही महिनाभित्रै अति भयानक भोकमरीको अवस्था आउने सक्ने उनले बताएका छन । एकीकृत प्रयास र सहकार्यले कोभिड–१९ को विश्वव्यापी महामारीलाई मानवीय तथा खाद्य संकटको विकराल रुप बन्नबाट जोगाउन सकिने उनले उल्लेख गरेका छन् ।

    डब्लुएफपीका प्रमुख डेविड आफै पनि कोभिड–१९ को संक्रमणबाट हालै मुक्त भएका हुन्।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार