मंगलबार, भाद्र २ गते २०८३
images

सुशासन र विकासको क्षेत्रमा धेरै काम गरेर मात्रै सरकार बिदा हुन्छ : प्रधानमन्त्री ओली

  • 2.9K
    SHARES
  • माघ २९, २०७५ मंगलबार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका लागि कसैको पनि दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । नेपाल प्रहरीको १७८ औँ समूहका तालिम सकेका प्रहरी निरीक्षकलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रहरीका शीर्ष अधिकारीहरूलाई कार्यसम्पादन मुल्यांकन र बढुवाको प्रणाली स्थापना गर्न पनि आग्रह गरेका छन्। विगतमा कार्यसम्पादन र बढुवाका लागि गलत प्रणाली बसेको भन्दै ओलीले अब त्यस्तो नहुने बताएका हुन्।

    १९ महिना तालिम गरेर पास आउट हुन लागेका प्रहरी निरीक्षक र उच्च प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने,प्रमोसन हुनका लागि कसैलाई रिझाउनु र कसैकोमा धाउनु पर्दैन। यस अवसरमा म प्रहरी संगठनका जिम्मेवार अधिकारीलाई कार्यसम्पादन मूल्यांकन र प्रमोसनका लागि न्यायोचित प्रणाली स्थापना गर्न आग्रह गर्दछु। उनले अबदेखि बढुवाका क्रममा भेदभाव भएको भन्ने सुन्न नपरोस् भनेर पनि आग्रह गरेका छन । 

    केही दिन पहिले मात्रै नेपाल प्रहरीका एसपीबाट एसएसपीमा बढुवाका क्रममा निष्पक्षता नभएको तथा कार्यसम्पादन र दक्षता एवं वरिष्ठता मिचेर बढुवा भएको भन्दै एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका थिए। त्यस्तै, डिएसपीबाट एसपीमा र एसपीबाट एसएसपीमा बढुवाका क्रममा सही निर्णय नभएको भन्दै प्रहरी संगठनभित्रको असन्तुष्टि सार्वजनिक भएको थियो।

    प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार ढल्ने सम्भावना नभएको पनि उक्त अवसरमा बताएका छन् । सुशासन र विकासको क्षेत्रमा धेरै काम गरेर मात्रै सरकार बिदा हुने उनको भनाइ छ । प्रहरी अधिकृतहरूतर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला, तर यो सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ ।’

    प्रधानमन्त्री ओलीले उच्च प्रहरी अधिकारीहरूलाई आफू पनि अनुशासनमा बस्न र मातहतका दर्जालाई पनि अनुशासनमा राख्न निर्देशन दिएका छन्। मातहतकालाई दबाउने र माथिल्लो तहकाको दलाली गर्ने काम बन्द गर्न पनि ओलीको निर्देशन थियो। उनले प्रहरी संगठन दलाली गर्न नभएर आफू पनि स्वाभिमानसका साथ बाँच्न र अरूको पनि स्वाभिमान साथ बाँच्ने अधिकार सुनिश्चित गर्नकालागि भएको बताएका छन।

    ‘राष्ट्रपतिलाई आरोप लगाउनु गलत’

    प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र सार्ने विषयलाई लिएर राष्ट्रपतिमाथि अनावश्यक लाञ्छना लगाएको बताएका छन । ‘आफूलाई सेलेब्रिटी देखाउन खोज्नेले अनुचित खालका टिप्पणी गरे’, ओलीले भने, ‘त्यस्ता व्यक्तिहरूले राष्ट्रिपतिलाई छिमेकी पिरेको आरोपसमेत लगाएका छन ।’

    राष्ट्रपतिको कारणले नभई पर्याप्त स्थान नभएकाले तालिम केन्द्र पनौती स्थानान्तरण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘राष्ट्रपतिले लखेट्न खोजेसमेत भनियो, यो सही होइन’ ओलीले भने ।

    प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीका साथमा गृहमन्त्री रामबहादुर थापाले समेत पनि मन्तव्य राखेका थिए । उनले प्रहरीको नीतिगत तहबाहेकमा राजनीतिक हस्तक्षेप नभएको भन्दै प्रहरीलाई चनाखो भएर कार्यसम्पादन गर्न आग्रह गरेका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार