काठमाडौं । नेकपा मसालको भातृ संगठन रक्तिम सांस्कृतिक अभियानमा हलचल आएको छ । मसालले रक्तिमका अध्यक्षसमेत रहेका जीवन शर्मालाई कारबाही गरेसँगै यसमा हलचल आएको हो ।
मसालले पार्टी हितविपरीत स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रमहरुमा गीत गाएको आरोप लगाउँदै शर्मालाई केही दिनअघि निलम्बन गरेको थियो ।
शर्मामाथि कारबाही भएसँगै अभियानको आजदेखि पोखरामा हुने भनिएको चौथो सम्मेलन अन्तिममा आएर स्थगित भएको छ ।
रक्तिमले व्यावहारिक तथा परिस्थितिजन्य कारण देखाउँदै निर्धारित सम्मेलन स्थगित गरेको हो ।
रक्तिम अभियानका महासचिव नारायण योगीले व्यावहारिक तथा परिस्थितिजन्य बाध्यताले सम्मेलन स्थगन गरिएको बताएका छन । तर, उनले रक्तिममा त्यस्तो परिस्थितिजन्य बाध्यता के आइलाग्यो भन्नेबारेमा भने केही पनि खुलाएनन् ।