काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि बस्नेगरी स्थगित भएको छ । अर्को बैठक भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेगरी स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले जानकारी दिएका छन ।
आजको बैठकको सुरुमा आफ्नो धारणा राख्दै परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले नेपाल भारत सीमा विवाद र समाधानका प्रयासका विषयमा जानकारी गराएका श्रेष्ठको भनाइ छ । अन्य सदस्यहरुले पनि त्यहीँ एजेण्डामै केन्द्रित भएर आफ्नो धारणा राखेका उनले जानकारी दिएका छन ।
आजको बैठकमा १८ जनाले आफ्नो धारणा राखेका र भोलि बिहान ११ बजे बस्ने बैठकमा बोल्न बाँकी सदस्यले आफ्नो विचार राख्ने श्रेष्ठले जानकारी दिएका छन ।
आजको बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले सीमा समस्याका विषयमा आफ्नो विचार राखेका छन् ।
बैठकमा हरेक सदस्यका लागि एजेण्डामा केन्द्रित रहेर आफ्नो धारणा राख्न १० मिनेटको समय दिइएको छ । आज बोल्नेहरुले सीमा समस्याका विभिन्न पक्षमा केन्द्रित रहेर धारणा राखेका छन् ।