काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच केहीबेरअघि भेटवार्ता सुरु भएको हो ।
पार्टीको स्थायी कमिटी बैठक पटक पटक स्थगित गरेर वार्तामा जोड दिएका अध्यक्षद्वयले आजको छलफलमा एजेण्डागत सहमतिको खोजी गर्ने सचिवालयका एक सदस्यले जानकारी दिएका छन ।
मदन जयन्तीको दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारतले आफूलाई सरकारबाट हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरु लागेको आरोप लगाएका थिए । त्यस लगत्तै स्थायी कमिटीका ३० जना सदस्यले ओलीले पार्टी र सरकार दुवै छाड्नुपर्ने माग गरेका थिए ।
त्यसपछि विवाद बढ्दै गएपछि अध्यक्ष ओलीले नेकपा स्थायी कमिटी बैठक नै बहिष्कार गरेका थिए । पार्टी विभाजनको अवस्थामा पुगेपछि झण्डै एकहप्तादेखि बैठक बस्न सकेको छैन । अध्यक्षद्वयबीच हरेक दिन वार्ता भएपनि प्रगति हुन सकेको छैन ।