काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न जिल्लाहरुमा बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय र धनमालको क्षति प्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले आज बिहान सामाजिक सञ्जालमार्फत प्राकृतिक प्रकोपमा निधन हुनुभएकाहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति वेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु ।’
अध्यक्षले दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गरेका छन् ।