काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाले औपचारिक रूपमा आधिकारिकता पाएको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जसपा दर्ताको निर्णय भएको जानकारी दिएका छन।
उनले आन्तरिक तयारी सकेर आज वा भोलि जसपालाई दल दर्ताको प्रमाणपत्र दिने पनि जानकारी दिएका छन ।
सरकारले केही समयअघि दल विभाजन गर्न सजिलो हुने गरी ल्याएको अध्यादेशसँगै राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता अघि बढेको थियो ।
यी दुई दलले एकताको प्रक्रिया पुऱ्याई निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।
आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि दल दर्ताको मान्यता दिएको हो ।
चौतर्फी दबाबपछि सरकार आफैँले ल्याएको सजिलो गरी दल फुटाउन मिल्ने अध्यादेश फिर्ता लिएको थियो ।