काठमाडौं । नेपालले प्रकाशित गरेको नक्सामा भारतले असन्तुष्टि जनाउँदै कूटनीतिक नोट पठाएको तथ्य खुलेको छ। बिहीबार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उक्त कुरा खुलेको हो ।
राष्ट्रिय सभाका सांसद एवं प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले नेपालले नयाँ नक्सा जारी गरेकोमा असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको जानकारी दिएका हुन् ।
समितिको बैठकमा बिडारीले १० असारमा भारतले कूटनीतिक नोट पठाएको बारे परराष्ट्र मन्त्रालयले समितिलाई जानकारी गराएको उनले बताएका छन ।
‘नयाँ नक्सा जारी भएकोमा भारतले विरोध गरेको छ,’ उनले भने, ‘हाम्रो दाबीलाई कुटनीतिक नोटमार्फत अस्वीकार गरेको छ ।’
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी गरेपछि भारतले कूटनीतिक नोट पठाएकोबारे सरकारले सार्वजनिक गरेको छैन ।