काठमाडौं । संघीय संसद् सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदमुक्त भएको जानकारी गराएको छ ।
सचिवालयका महासचिव डा. भरतराज गौतमले विज्ञप्ति निकालेर सरिता गिरीलाई सांसद् पदबाट मुक्त गरेको जानकारी दिएका हुन् । साथै, उनले उक्त सांसद पद पनि रिक्त रहेको जनाएका छन् ।
समाजवादी पार्टीको संसदीय दलले निर्णय गरी जारी गरेको निर्देशन (ह्वीप) उल्लंघन गरेको भनी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधानको धारा ५१ को उपधारा (५) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम पत्र पठाएको आधारमा सभामुखले स्वीकृत गरेसँगै गिरिको सांसद पद नरहेको संसद सचिवालयले जनाएको छ ।
विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम समाजवादी पार्टीले प्रक्रिया पुरा गरी पत्र पठाएकाले संविधानको धारा ८९ बमोजिम सरिता गिरीलाई सांसद पदबाट हटाइएको जनाएका छन् । गिरीलाई समाजवादी पार्टीले समानुपातिकतर्फ सांसद बनाएको थियो ।
