मंगलबार, भाद्र २ गते २०८३
images

ओली पुरानै अडानमा, प्रचण्ड-नेपालले मागे अध्यक्ष र प्रधानमन्त्री दुवैपदबाट राजीनामा

  • 1.5K
    SHARES
  • श्रावण १, २०७७ बिहीबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि भएको त्रिपक्षीय छलफलमा नेताहरुले पुरानै अडान राखेका छन् । त्रिपक्षीय वार्ताका क्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    प्रचण्ड र नेपालले एकस्वरमा ओलीले दुवैपदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका स्रोतले जनाएको छ । जवाफमा प्रधानमन्त्री ओलीले पुरानै अडान राखेका छन् । उनले तत्काल दुवै पदबाट राजीनामा दिन नसक्ने प्रष्टसँग राखेका छन् । त्रिपक्षीय छलफलका क्रममा महासचिव विष्णु पौडेल पनि उपस्थित रहेका थिए ।

    त्रिपक्षीय वार्ताअघि दुवै पक्षले आआफ्नो समूहमा छलफल गरेका थिए । त्यसै अनुसार आजको बैठकमा अडानमात्रै राख्ने काम भएको एक नेताले जानकारी दिएका छन । सहमतिका विभिन्न विकल्पमा भने छलफल भएको छ ।

    मदन जयन्तीको दिन प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टी नेताहरु लागेको आरोप लगाएका थिए । त्यसपछि प्रचण्ड नेपालसहितका नेताहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

    तर, प्रधानमन्त्री ओलीले तत्काल कुनै पनि पद नछाड्ने अडान कायमै राखेका छन् । त्रिपक्षीय छलफलबाट सकरात्मक परिणाम आउने आशा गरिए पनि नेताहरुबीचको दूरी थप बढेको छ । अहिले दुवै समूह एकआपसमा छलफलमा जुटेका छन् । त्यसका आधारमा भोलि बस्ने भनिएको स्थायी कमिटी बैठक बस्ने वा नबस्ने भन्ने टुंगो लाग्नेछ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार